इटहरी । तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् ।

अधिकांश खोला, खोल्सा र नदीमा पानीको मात्रा बढ्दा सवारी र ढुवानीका साधन मात्रै नभएर पैदल यात्रामा पनि जोखिम थपिएको छ ।नावाखोामा बाढी आँउदा तमोर करिडोर अवरुद्ध छ । यो सडक अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङबाट धरान र विराटनगर हुँदै विभिन्न स्थानसम्म र ती स्थानबाट पाँचथर र ताप्लेजुङका लागि छुटेका सयौं सवारी र ढुवानीका साधन बाट बाटै अलपत्र छन । यस्तै मेची राजमार्गको इलाम खण्डमा पर्ने राजदुवाली र वैकल्पिक सडकहरुमा क्षति पुग्दा यो बाटो भएर एकसाता यता सवारी र ढुवानी साधन छुट्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सहायक राजमार्गहरुमा पनि पहिरोले क्षति पुर्र्र्र्याएको छ । फालेलुङ गाउँपालिका २ एकतिनका विभिन्न क्षेत्रमा गएको पहिरोले जोरपोखरी एकतिन मेमेङ सडक अवरुद्ध भएको छ। जिल्लाका अन्य ग्रामीण सडकमा पनि ठाउँ–ठाउँमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दै गएको र पहिरोको जोखिम उच्च रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार हालसम्म जिल्लामा वर्षाका कारण कुनै मानवीय वा ठूलो भौतिक क्षति भएको छैन तर सडक र भौतिक पुर्वाधारमा भने क्षति हुने क्रम जारी छ।

जिल्ला प्रशासन कार्यालयले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा सडक आसपास अनावश्यक आवतजावत नगर्न तथा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको दाहालले बताउनुभयो । साथै सम्भावित विपद्को सामना गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।