इटहरी। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार  सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट लडेर मृत्यु भएको हो ।

साविक साब्लाखु वडा नम्बर ४, ५ र ६ को सिमानामा पर्ने चौहानडाँडा भीरबाट लडेर बर्देवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाल जीवनडाँडा भनेर चिनिने सो स्थानमा रहेको एक किराना पसलबाट सामान किनेर घर फर्कने क्रममा भीरबाट लडेर बर्देवाको मृत्यु भएको हो ।

घरबाट निस्किएको लामो समयसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा चौहानडाँडा भीरको पुछार ढाँडबारी क्षेत्रमा बर्देवाको शव फेला परेको साब्लाखुका वडाध्यक्ष पूर्णकुमार लिम्बूले जानकारी दिनुभयो । वडाध्यक्ष लिम्बूका अनुसार घटनाको प्रकृति हेर्दा बाटो हिड्ने क्रममा अचानक चिप्लिएर उहाँ लड्नुभएको अनुमान गरिएको छ ।

बर्देवाको शव बाटोको डिलदेखि करिव ६० मिटर तल फेला परेको थियो । प्रहरीका अनुसार मृतक बर्देवाको शव आइतबार जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको र सोही दिन साँझ गाउँ पुर्‍याएर शवको अन्त्येष्टि गरिएको साब्लाखुका वडासदस्य रनबहादुर बिष्टले जानकारी दिनुभयो ।