इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आइतबार रातिदेखि खस्न थालेको पहिरो सोमबार अपराह्नसम्म पनि निरन्तर झरिरहेकाले सडक सञ्चालन हुन सकेको छैन । पञ्चमुखी बजार नजिकै बरडाँडा भन्ने स्थानमा सडकभन्दा करिब एक सय मिटर माथिबाट ठूलो पहिरो खसेपछि सडक पुरिएको हो । पहिरोका कारण गाउँपालिकाको केन्द्र थकेपुङ, वडा नम्बर ४ मेमेङ तथा वडा नम्बर ३ माङलेवुङ क्षेत्रबाट सदरमुकाम फिदिमतर्फ आउने–जाने सवारीसाधन र दैनिक उपभोग्य सामग्री ढुवानी पूर्ण रूपमा ठप्प भएको छ । स्थानीयका अनुसार लगातारको वर्षापछि जमिन कमजोर बन्दा पहिरो गएको हो । पहिरो खस्ने क्रम अझै जारी रहेकाले आसपासका बासिन्दा पनि त्रसित बनेका छन् । सडक अवरुद्ध हुँदा अत्यावश्यक सेवा तथा दैनिक आवतजावतमा समेत समस्या उत्पन्न भएको छ ।
फालेलुङ गाउँपालिका–२ का वडाध्यक्ष तिलबहादुर खत्रीका अनुसार पहिरोले सडक मात्र नभई आसपासका कृषि जमिन तथा नगदेबालीमा समेत क्षति पुगेको छ । हाल भत्किएको स्थानभन्दा ५० मिटर माथिसम्म धाँजा फाटेकाले थप जोखिम बढेको उहाँले बताँउनुभयो । सडक पुनः सञ्चालनका लागि पहिरो हटाउने तयारी गरिए पनि वर्षा नरोकिएकाले तत्काल डोजर परिचालन गर्न कठिनाइ भएको जनाइएको छ ।
स्थानीयले वर्षायाममा उक्त सडक खण्डमा पटक–पटक पहिरो जाने समस्या दोहोरिने भएकाले दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन ।


