इटहरी। सुनसरीको वराहक्षेत्रका स्थानीय बालबालिकालाई चरा अवलोकन गराउँदै प्रकृति तथा जैविक विविधता संरक्षणप्रति सचेत बनाउन अभियान सञ्चालन गरिदैँ आएको छ ।

१२ वर्षदेखि प्रत्येक शनिबार कोशी बर्ड अब्जर्भेटरीले स्थानीय बालबालिकालाई कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासका सिमसार, घाँसेमैदान र वन क्षेत्रमा लगेर चराको पहिचान, वासस्थान, आनीबानी र संरक्षणबारे व्यवहारिक ज्ञान दिदैँ आएको हो । हिमालयन नेचर संस्थाअन्तर्गत सञ्चालित कोशी बर्ड अब्जर्भेटरी ९सिमसार तथा घाँसेमैदान अध्ययन केन्द्र० मा वराहक्षेत्र नगरपालिका क्षेत्रका बालबालिका हरेक शनिबार सहभागी हुने गरेको स्थानीय नेचर गाइड तथा कोशी बर्ड अब्जर्भेटरीका कर्मचारी बिमल तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुले स्थानीय नेचर गाइडसँगै वन, नदी किनार, सिमसार र घाँसेमैदानमा पुगेर दूरबिनबाट चरा अवलोकन गर्ने, आवाजका आधारमा प्रजाति पहिचान गर्ने, अभिलेख राख्ने तथा चराको बानी व्यवहार अध्ययन गर्ने अभ्यास गर्दै आएका छन् । 

चरा अवलोकन कार्यक्रमले बालबालिकामा प्रकृतिप्रतिको रुचि बढाउनुका साथै संरक्षण चेतना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको तिम्सिनाको भनाइ छ । अवलोकन कार्यक्रमबाट सहभागी भएका झन्डै आधा दर्जन युवा नेचर गाइडका रूपमा स्थापित भइसकेको बताइएको छ भने केहीले प्रकृति पर्यटनलाई नै रोजगारीको माध्यम बनाउँदै आएका छन् । कोशी क्षेत्र नेपालका महत्वपूर्ण चरा बासस्थानमध्ये एक मानिन्छ । यहाँ वर्षभरि स्थानीय चराबाहेक विभिन्न देशबाट आउने पाहुना चरासमेत देख्न सकिन्छ । तर सिमसार क्षेत्रको क्षयीकरण, बासस्थानको विनाश, विषादीको बढ्दो प्रयोग र जलवायु परिवर्तनका कारण चराको संख्या घट्दै गएको चदा विद्ध अनिस तिम्सीनाले बताउनुभयो । 

चरा अवलोकनले बालबालिकालाई प्रकृतिसँग जोड्नुका साथै उनीहरूको फुर्सदको समय सिर्जनात्मक रूपमा उपयोग गर्न मद्दत पुगेको स्थानीय सुमन आचार्यले बताउनुभयो । बालबालिकाहरु चराको खोजी, पहिचान र अभिलेखीकरणमा सक्रिय हुँदा उनीहरू अनुसन्धानमुखी बन्दै गएका छन् । कार्यक्रमले बालबालिकालाई कक्षाकोठाभन्दा बाहिर प्रकृतिमै पुगेर सिक्ने अवसर प्रदान गरेको छ आचार्यले बताउनुभयो ।  नयाँ पुस्तामा प्रकृति र जैविक विविधताप्रति जिम्मेवारीको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको देखिन्छ । कोशीका सिमसारमा हरेक शनिबार दूरबिन बोकेर चरा खोज्दै हिँड्ने यी बालबालिकाको चरा अवलोकन, पहिचान र अभिलेखीकरणमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । 

अवलोकन कार्यले बालबालिकामा अनुसन्धानमूलक सोच, वातावरणीय जिम्मेवारी र प्रकृति संरक्षणप्रतिको सकारात्मक दृष्टिकोण विकास हुँदै गएको सिमसार तथा घाँसेमैदान अध्ययन केन्द्रले जनाएको छ ।