इटहरी ।  विभिन्न आपराधिक आरोपमा पक्राउ परेका बिर्तामोड–४ का गंगा गिरीले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको जीप मेची भन्सार कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती सुजुकी कम्पनीको डब्लुबी ७४ बीआर ७२१४ नम्बरको कालो जिम्नी जीप आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा नभएको पाइएपछि अवैध ठहर गर्दै भन्सार कार्यालयमा बुझाइएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त सवारी गिरीको नाममा नभई एक भारतीय नागरिकको नाममा दर्ता रहेको खुलेको छ। त्रिशुल सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका ४४ वर्षीय गिरीलाई प्रहरीले असार २५ गते बिर्तामोड–३ स्थित बिर्ताबजारबाट पक्राउ गरेको थियो।

उनीमाथि आपराधिक लाभ ९एक्स्टर्सन०, शरीर बन्धक तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका गिरीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। घटनासँग सम्बन्धित अन्य पक्षबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।