इटहरी। मोरङको केराबारी गाउँपालिकामा खसी खेदाउँदै सडक पार गर्ने क्रममा टिपरको ठक्कर लाग्दा एक ७० वर्षीया महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा केराबारी गाउँपालिका–५ निवासी विष्णुमाया मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शुक्रबार बिहान करिब ८ः५० बजे केराबारी–५ स्थित शान्ति चोकमा बालुवा बोकेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले उनलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरमा पालेको खसी खेदाउँदै सडक पार गर्न खोज्ने क्रममा टिपरको ठक्कर लागेको खुलेको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय केराबारीबाट वरिष्ठ सई देवेन्द्र सुवेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले टिपर र चालक संखुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्दै आएका २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ। इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।