इटहरी । सुनसरीको वराहक्षेत्रस्थित चतरा जलविद्युत् केन्द्रमा जडान गरिएका दुई युनिटमध्ये एउटा उत्पादन युनिट लामो समयदेखि बिग्रेर बन्द हुँदा विद्युत् उत्पादन आधा घटेको छ ।   

३।२ मेगावाट क्षमता रहेको केन्द्रबाट हाल करिब १।६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको चतरा जलविद्युत् केन्द्रका प्रमुख अनिल साहले बताउनुभयो । उहाँका अनुसार एक हजार ६२७ किलोवाट क्षमताका दुई युनिटमध्ये एउटा युनिट बिग्रेर सञ्चालनमा नरहेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको छैन । 

सुनसरी मोरङ सिँचाइ आयोजनाको मुख्य नहरबाट आउने पानी टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिँदै आएको छ । चतरा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत धरान सबस्टेसनमा जोडिएको चतरा जलविद्युत् केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख अनिल साहका अनुसार मङ्सिर र वैशाख महिनामा नहरमा पानीको बहाब घट्ने भएकाले उत्पादन प्रभावित हुने गरेको छ  जलविद्युत् केन्द्रमा यान्त्रिक समस्या देखिएपछि केहि वर्ष अगाडि दुवै युनिट बन्द भई करिब सात वर्षसम्म उत्पादन ठप्प थियो । जर्मन कम्पनी एन्ड्रिज हाइड्रोबाट आवश्यक उपकरण ल्याएर युनिट मर्मत गरी सञ्चालनमा ल्याइएपछि उत्पादन पुनः सुरु भएको थियो तर पहिलो युनिटको गभर्नर बिग्रिएपछि लामो समयदेखि एउटा युनिटबाट मात्र विद्युत् उत्पादन हुँदै आएको छ । जलविद्युत् केन्द्रमा बन्ध रहेको युनिट मर्मत गरेर सञ्चालनमा ल्याउन सके ३।२ मेगावाट नै विद्युत् उत्पादन हुने बताइएको छ । 

चतराका स्थानीय युवराज भट्टराईले चतरा जलविद्युत् केन्द्र चतरा क्षेत्रको पहिचान र गौरवसँग जोडिएको आयोजना भएकाले यसको पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने बताउनुभयो । दुवै युनिट सञ्चालनमा आएर केन्द्रले पुन ३।२ मेगावाट विद्युत् उत्पादन गर्न सके यसले राष्ट्रिय विद्युत् प्रणालीसँगै चतरा क्षेत्रको पहिचानलाई पनि थप मजबुत बनाउने छ । चतरा जलविद्युत् केन्द्रको इतिहास सिँचाइ आयोजनासँग जोडिएको छ । नेपाल र भारत सरकारबिच सन् १९५४ मा भएको कोशी सम्झौता अनुसार सुनसरी र मोरङका करिब ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको थियो । कोशी नदीको पूर्वी किनार चतराबाट ५३ किलोमिटर लामो मुख्य नहर र शाखा नहर निर्माण गरी सिँचाइ सुविधा पुर्‍याइएको छ । सप्तकोशी नदीबाट नहरमा बगेर आउने अत्यधिक बालुवा हटाउन प्रयोग हुने ड्रेजर मेसिन सञ्चालनका लागि आवश्यक विद्युत् आपूर्ति गर्न नहर क्षेत्रमा नै जलविद्युत् केन्द्र स्थापना गरिएको थियो ।