इटहरी । कोशी प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षयता डेंगी संक्रमण क्रमशः घट्दै गएको देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा डेंगी संक्रमितको संख्या अघिल्ला वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको हो।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा कोशी प्रदेशमा चार हजार ८२३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा यो संख्या छ हजार ८६३ थियो भने आर्थिक वर्ष २०८०र८१ मा १८ हजार ६७ जनामा संक्रमण देखिएको थियो।चालु आर्थिक वर्षमा प्रदेशका तराईका तीन जिल्लामा तीन हजार ७६२ र पहाडी तथा हिमाली ११ जिल्लामा एक हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठका अनुसार सबैभन्दा बढी मोरङमा दुई हजार ३८३ जना संक्रमित भेटिएका छन् भने सबैभन्दा कम इलाम र सोलुखुम्बुमा चार–चार जनामा संक्रमण पुष्टि भएको छ।

वर्षायाममा संक्रमणको जोखिम बढ्ने भएकाले असारदेखि मंसिरसम्म डेंगी संक्रमण बढी देखिने गरेको उहाँले बताउनुभयो। धनकुटामा पनि डेंगी संक्रमण उल्लेखनीय रूपमा घटेको छ। जिल्लामा तीन वर्षअघि ४८३ जना संक्रमित रहेकामा अघिल्लो आर्थिक वर्षमा १५६ जना र चालु आर्थिक वर्षमा ५० जनामा मात्र संक्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षमा संखुवासभामा ५७६, ताप्लेजुङमा ८३, सोलुखुम्बुमा ४, ओखलढुङ्गामा १५, खोटाङमा १२७, भोजपुरमा १०३, तेह्रथुममा ६३, पाँचथरमा २१, इलाममा ४, झापामा ८४५, सुनसरीमा ५३४ र उदयपुरमा ८८ जनामा डेंगी संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बञ्जाडेले संक्रमण घटेको भन्दै ढुक्क भएर बस्ने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार वर्षायामभर व्यक्तिगत सरसफाइमा ध्यान दिने, वातावरण सफा राख्ने, लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ। प्रत्येक शुक्रबार कार्यालय तथा सार्वजनिक स्थलमा सरसफाइ अभियानसमेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

एडिज जातको लामखुट्टेले डेंगी संक्रमित व्यक्तिलाई टोकेपछि अर्को व्यक्तिलाई टोक्दा रोग सर्ने गर्छ। लामखुट्टेले टोकेको चारदेखि १४ दिनभित्र डेंगीका लक्षण देखिन सक्छन्। डेंगीका प्रमुख लक्षणमा ज्वरो आउने, शरीर दुख्ने, अत्यधिक टाउको तथा आँखाको दुखाइ, कमजोरी महसुस हुने र वाकवाकी लाग्ने रहेका छन्। यस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाहअनुसार पारासिटामोलजस्ता सामान्य औषधी सेवन गर्न सकिने भए पनि अवस्था सुधार नभए तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकले सुझाव दिएका छन्।