इटहरी । धनकुटामा कविता सङ्ग्रह ‘खरको कलम माटाको कापी’ सार्वजनिक गरिएको छ । कवि सावित्री अधिकारीद्धारा लिखित कविता सङ्ग्रहको आइतबार लोकार्पण गरिएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार कुन्ता शर्मा र धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कवि अधिकारीको कविता संग्रहको लोकार्पण गर्नुभएको हो । सल्लेरी मिडिया रिसर्च सेन्टर धनकुटाको आयोजनामा लोकार्पण गरिएको कविता सङ्ग्रहमा ३९ वटा कविता समावेश गरिएको छ । पहिले पहिले कलम कापी नपाइने हुँदा माटोमा लेखेर सिकेको अधिकारीको भनाइ छ । उहाँले बाल्यकालमा, जागिरे जिवनमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर्जना गरेर कविता सङ्ग्रह तयार पारेको स्रष्टा अधिकारीले बताउनु भयो । 

कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले समाजमा शान्ति फैलाउन यस्त कृतिको भुमिका रहने बताउनु भयो । उहाँले समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहने बताउँदै यस्ता कृतिले समाजमा तथा विशेषगरि युवाहरुमा नैतिक शिक्षा दिने तथा समाजको लागि साहित्यिक उपहार हुने बताउनु भयो । 

कार्यक्रममा धनकुटाका साहित्यकारहरुले आफ्ना रचना बाचन समेत गरेका थिए । विभिन्न समयमा कविता लेख्दै आउनुभएकी अधिकारीको यो पहिलो कविता संग्रह हो । उहाँ निवृत्त कर्मचारी रहनु भएको छ । धनकुटाको विकट गाउँ साविक कुरुले तेनुपा गााविस हालको चौबिसे गाउँपालिका वडा नं. ४ मा २००७ साल असोज ८ गते जन्मनु भएकी अधिकारी २५ वर्ष राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत रही २०६० सालमा निवृत्त हुनुभएको थियो।