इटहरी । सुनसरीको सदरमुकाम इनरुवामा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक संस्था शान्तिदीप नेपालले इनरुवामा पत्रकार सम्मेलन आयोजना गरी कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन तथा कोशी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको तयारी सम्पन्न भएको जानकारी दिएको हो ।
इनरुवा नगरपालिका वडा नं. ६, मधेशास्थित कभर्डहलमा आयोजना हुने यस प्रतियोगितामा आयोजक सहित कुल आठ टोलीको सहभागिता रहने आयोजक सुवास राईले जानकारी दिनुभयो। कोशी प्रदेश भित्रका खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्य राखिएको यस प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन प्रत्येक सहभागी टिमले अन्य प्रदेशका वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका बढीमा ३ जनासम्म खेलाडीहरू समावेश गर्न पाउने नियम बनाइएको छ।
प्रतियोगितामा विभागीय टोली, भोजपुर, सुनसरी, मोरङ, झापा र आयोजकको तर्फबाट सुनसरी भलिबल ट्रेनिङ सेन्टर मधेशा लगायतका टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।


