इटहरी । सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान आइतबारदेखि धनकुटाको सहिदभूमिबाट औपचारिक रुपमा सुरु गरिएको छ । 

आइतबार नै राष्ट्रिय वृक्षारोपण दिवस पनि मनाइएको छ । सहिदभूमिस्थित प्रवेश गेट देखि सुकेआहाल हुँदै थलथले बजारसम्म बिरुवा रोपेर अभियानको सुरुवात गरिएको हो। डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा तथा सहिदभूमि गाउँपालिकाको सहयोगमा सुरुवात भएको अभियानले वातावरण संरक्षणप्रति नागरिकको सहभागिता अभिवृद्धि गर्नुका साथै हरियाली नेपाल निर्माणको राष्ट्रिय अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। सो अवसरमा प्रवेश गेटदेखि सुकेआहाल हुँदै थलथले बजारसम्म सडक पेटीमा सौन्दर्यतात्मक प्रजातिको वृक्षारोपण गरि दिवस मनाइएको हो।

जसमा म्याइ गोस्टील, पिताजिया, कल्की, ज्याक्या रान्डा, गुल्मोर र गोल्डेन धुपीका गरि ३ सय ५० विरुवा रोपिएको छ । सम्बन्धित निकायले सबै नागरिकलाई वृक्षारोपणमा मात्र सीमित नरही रोपिएका विरुवाको संरक्षण र संवद्र्धन गर्नुपर्ने डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीव राज ढकालले आग्रह गर्नुभयो। 

‘सगरमाथा वृक्षरोपण महाअभियान’ सन् २०२५ देखि २०४५ सम्म २० बर्से वृक्षरोपण महाअभियान चलाउने सरकारको योजना रहेको छ । जसमा हरेक वर्ष तीन करोडका दरले २० वर्षसम्म ६० करोड बिरुवा रोपिने लक्ष्य रहेको छ। ऋभियान अन्तर्गत देशभरका वन क्षेत्र, सार्वजनिक स्थान, नदी उकास क्षेत्र, विद्यालय परिसर तथा खाली जग्गामा व्यापक वृक्षारोपण गरिने लक्ष्य लिइएको छ। नेपाल सरकारले लिएको जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीतिलाई सघाउने महत्वपूर्ण कडीका रुपमा यो महाअभियान सुरु गरेको थियो ।

कोशी प्रदेशका सबै जिल्लामा यस वर्षको महाअभियान आइतबारदेखि एकसाथ सुरु भएको जनाइएको छ। ‘सगरमाथा वृक्षरोपण महाअभियान’ अन्तर्गत हरेक वर्ष असार १५ देखि साउन १५ सम्म वृक्षारोपण गरिने योजना रहेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी, सामुदायिक वनका पदाधिकारी, विद्यार्थी तथा स्थानीयवासीहरूको सहभागिता थियो । सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण र हरियाली प्रवद्र्धनप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।