इटहरी । धरान उपमहानगरपालिका–८, तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ।

शनिबार आयोजित एक विशेष समारोहबिच धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले बसपार्कको औपचारिक उद्घाटन गर्नुभएको हो। करिब २७ कट्ठा जग्गामा फैलिएको यस बसपार्कमा भूमिगत पार्किङको सुविधसहित तीनतले टर्मिनल भवन निर्माण गरिएको छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण दक्षिण–पश्चिमतर्फको केही भाग भने निर्माण हुन बाँकी रहेको धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिनुभयो।

बसपार्कको बेसमेन्टमा करिब एक हजार ८४० वर्गमिटर क्षेत्रफलमा पार्किङको व्यवस्था मिलाइएको छ। जसमा दुई वटा सवारी प्रवेश र्‍याम्प, दुई वटा भर्‍याङ तथा भविष्यमा लिफ्ट जडान गर्न सकिने गरी संरचना तयार गरिएको छ। भवनको भुइँतलामा १०५ सिट क्षमताको यात्रु प्रतीक्षालय, २५ वटा टिकट काउन्टर, एटीएम, सिसी टिभी तथा सुरक्षा कक्ष, महिला, पुरुष र अपाङ्गतामैत्री सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा भाडामा सञ्चालन गर्न सकिने व्यावसायिक स्थानहरू रहेका छन्।

यसैगरी, पहिलो तलामा १४ वटा व्यावसायिक सटर, संलग्न शौचालय ९अट्याच्ड बाथरुम० सहित १२ वटा लजका कोठा, रेस्टुरेन्ट, कफी सप, खुला व्यावसायिक क्षेत्र तथा बसपार्क व्यवस्थापन कार्यालयको व्यवस्था गरिएको छ। बसपार्क परिसरमा एकसाथ ३८ वटा ठुला बस र १८ वटा जिप, ल्यान्डरोभर तथा ट्याक्सी पार्किङ गर्न सकिने क्षमता रहेको छ। साथै, परिसरमा सार्वजनिक शौचालय तथा ८० हजार लिटर क्षमताको खानेपानी एवं अग्निनियन्त्रण ट्याङ्की निर्माण गरिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो।

आयोजनाको कुल लागत अनुमान ३३ करोड ७० लाख ४७ हजार २३८ रुपियाँ रहेको कार्यवाहक नगर प्रमुख बेघाले जानकारी दिनुभयो। प्रारम्भिक ठेक्का सम्झौता २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपियाँमा भए पनि ड्रइङ डिजाइन परिमार्जनपछि २४ करोड ९१ लाख ३ हजार ९५८ रुपियाँ कायम गरिएको थियो। आयोजनामा हालसम्म २४ करोड ८६ लाख ९ हजार १४९ रुपियाँ खर्च भइसकेको उहाँले बताउनुभयो। यस बसपार्क निर्माणका लागि २०७८ साल असार ३० गते ठेक्का सम्झौता भई २०८१ असार ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, उच्च अदालत विराटनगरको अन्तरिम आदेशका कारण उत्पन्न अवरोधले गर्दा नौ महिना म्याद थप गरी हालै निर्माण कार्य सम्पन्न गरिएको हो।

स्मार्ट बसपार्क निर्माणको ठेक्का विकोई–गीताञ्जली जेभी, दुहबी, सुनसरीले पाएको थियो। उद्घाटन कार्यक्रममा पूर्व नगर प्रमुख तिलक राई, पूर्व उपप्रमुख मञ्जु भण्डारी तथा धरानका विभिन्न वडाका वडाध्यक्षको उपस्थिति रहेको थियो।