सुनसरी। भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा शिक्षा शाखाको समन्वयमा “विद्यार्थीहरूको व्यक्तित्व विकास सम्बन्धी एकदिने क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ। गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको तालिमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार सीप तथा सकारात्मक सोचको विकास गर्ने लक्ष्य राखेको थियो।

तालिममा गाउँपालिकाको शिक्षा शाखाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले अन्तरक्रियात्मक छलफल, समूहगत अभ्यास, प्रश्नोत्तर तथा प्रस्तुतीकरणमार्फत सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रममा विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेलले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार कला, सार्वजनिक रूपमा बोल्ने सीप, समय व्यवस्थापन, लक्ष्य निर्धारण तथा सकारात्मक सोचका विषयमा प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणका क्रममा पौडेलले विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गरी आत्मविश्वासका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले अध्ययनसँगै व्यवहारिक ज्ञान, अनुशासन, नेतृत्व क्षमता र प्रभावकारी सञ्चार सीपले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सिकेका ज्ञान र सीपलाई दैनिक जीवनमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

तालिममा विद्यार्थीहरूलाई सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने तरिका, समूहमा सहकार्य गर्ने सीप, समयको उचित व्यवस्थापन तथा लक्ष्य निर्धारणका विषयमा व्यवहारिक अभ्याससमेत गराइएको थियो। सहभागीहरूले प्रशिक्षणलाई उपयोगी, प्रेरणादायी तथा व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए।

गाउँपालिकाले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा जिम्मेवारीबोध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।