इटहरी । पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।
अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्यालीसहितको सचेतना कार्यक्रम गरिएको हो ।स्थानीयस्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेङ्गी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताइन् । अभियानअन्तर्गत अब जिल्ला तहमा डेङ्गी नियन्त्रणका लागि प्रत्येक शुक्रबार आआफ्नो तहबाट ‘खोज र नष्ट गर’ अभियान हुनेछ ।
डेङ्गीको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय भोजपुरले जिल्लावासी सबै नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालयले पनि समुदाय–प्रहरी साझेदारी अवधारण कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।
सचेतना कार्यक्रममा उनले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु डेङ्गी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै प्रत्येक नागरिकलाई घर, आँगन तथा कार्यस्थल सफा राख्न र पानी जम्न नदिन आग्रह गर्नुभयो । सचेतना कार्यक्रममा स्वास्थ्य कार्यालय कर्मचारी, जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।
स्वास्थ्य कार्यालयका अनुसार डेङ्गी सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य हो । लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नुअघि यसको लार्भा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेङ्गीको सङ्क्रमण घटाउन सकिने कार्यालयले जनाएको छ ।


