इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित सुकुना खेल मैदानमा “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ ।
सुन्दर खोर्साने युवा क्लबको आयोजनामा प्रतियोगिता आगामी जेठ २ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता दैनिक दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा भारतको यू.के.एफ.सी दार्जिलिङ, इटहरीको राष्ट्रिय जागृति फुटबल क्लब, सिराहाको सहलेस फुटबल क्लब तथा अन्य टोलीहरूको सहभागिता रहनेछ ।
आयोजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूका अनुसार प्रतियोगिताले अनुशासन, एकता र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न,स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान हुन साथै प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । फुटबलप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्दै स्वस्थ जीवनशैली र खेल संस्कृतिको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।


