इटहरी। “भाषा संस्कृति हमर राष्ट्रके गौरव आर पहिचान हए” भन्ने नारासहित मगही समुदायको भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अध्ययन–अनुसन्धान कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।

भाषा संस्कृति प्रतिष्ठानको आयोजनामा राम मन्दिर सामुदायिक भवन विराटनगरमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहता प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष जयप्रकाश महतो ले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषताले सम्पन्न मुलुक भएकाले सबै भाषा र संस्कृतिको संरक्षण राज्यको दायित्व भएको बताउनुभयो।

उहाँले मगही भाषा, साहित्य र संस्कृतिले तराई–मधेसको मौलिक पहिचान बोकेको उल्लेख गर्दै यसको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धनका लागि अध्ययन तथा अनुसन्धान आवश्यक रहेको धारणा राख्नुभयो। मन्त्री मेहताले भाषा हराएसँगै समुदायको पहिचान र इतिहास समेत संकटमा पर्ने भएकाले मातृभाषाको संरक्षणमा समुदाय स्वयं सक्रिय हुनुपर्ने बताउनुभयो।

उहाँले कोशी प्रदेश सरकारले स्थानीय भाषा, कला र संस्कृतिको जगेर्नाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै मगही समुदायको भाषा र संस्कृतिको संरक्षणमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

WhatsApp Image 2026-05-10 at 4.51.05 PM

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य जयप्रकाश चौधरी, गीता रानी महतो लगायत मगही समुदायका अगुवा तथा नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आयोजकका अनुसार मगही समुदाय तराई–मधेस क्षेत्रअन्तर्गत झापादेखि रौतहटसम्म फैलिएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले मगही भाषा, कला, साहित्य र संस्कृतिको संरक्षणका लागि राज्य तथा समुदाय दुवै पक्षबाट पहल आवश्यक रहेको बताएका थिए।