इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा एचपीभी खोप अभियान सञ्चालनका लागि वडा खोप समन्वय समिति तथा सरोकारवालाहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष अभदेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख, स्वास्थ्य केन्द्रका कर्मचारी, वडा कार्यालयका कर्मचारी, विद्यालय नर्स, फोकल शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
यही माघ २५ गतेदेखि २९ गतेसम्म आधारभूत स्वास्थ्य सेवा केन्द्र इटहरी–१० ले सञ्चालन गर्ने एचपीभी खोप अभियान तथा पाठेघरको मुखको क्यान्सर विरुद्ध गरिने खोपबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र इटहरी–१० का प्रमुख बालकृष्ण गौतमले जानकारी दिनुभयो।
कार्यक्रममा जनप्रतिनिधि तारादेवी ढकालले एचपीभी खोपका फाइदा तथा यसको महत्वबारे प्रकाश पार्नुभयो। त्यस्तै संविधान टोल विकास संस्थाका अध्यक्ष खम्बासिंह कार्कीले यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो।
जनप्रतिनिधि अमर श्रेष्ठले पनि एचपीभी खोप अभियानले बालिकाहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने भन्दै सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।


