इटहरी । मोरङको बुढीगंगा गाउँपालिकामा नागरिकलाई ७७ प्रतिशत अनुदानमा विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ।
गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा नागरिकको दैनिक जीवन सहज बनाउने उद्देश्यले इन्डक्सन चुलो वितरण गरिएको हो। चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नागरिकको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर गाउँपालिकाले विकास तथा सेवा प्रवाहका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। अध्यक्ष मगरले आफू जनताको सेवाका लागि निर्वाचित भएको उल्लेख गर्दै बुढीगंगालाई शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो।
उहाँले आफ्नो नेतृत्वमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रमा उल्लेख्य सुधार गरेको दाबी गर्नुभयो। अध्यक्ष मगरका अनुसार गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सुत्केरी महिला लगायतका नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले छोरी–बुहारीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्दै स्टाफ नर्स अध्ययनमा समेत निःशुल्क सहयोगको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो।
विद्युतीय इन्डक्सन चुलो वितरण कार्यक्रमले परम्परागत इन्धन माथिको निर्भरता घटाउनुका साथै खाना पकाउने कामलाई सहज बनाउने अपेक्षा गरिएको छ । साथै, विद्युत् ऊर्जाको प्रयोग बढाउँदै स्वच्छ, सुरक्षित तथा वातावरणमैत्री ऊर्जाको प्रवद्र्धनमा समेत कार्यक्रमले योगदान पु¥याउने गाउँपालिकाले जनाएको छ। चुलो वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।


