इटहरी । झापाको पुरानो नगर भद्रपुरलाई उपमहानगरपालिका बनाउने प्रक्रिया अघि बढेको छ। नगरपालिकामा भएको सर्वपक्षीय भेलाले भद्रपुरलाई उपमहानगरपालिका बनाउन सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर एवं नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ का आधारमा नगरको पुनर्संरचनाबारे छलफल गर्न भेला आयोजना गरिएको थियो। भद्रपुर विसं २००८ मा नगरपालिका बनेको थियो। नेपालका पुराना नगरमध्ये रहेको भद्रपुरको ऐतिहासिक पहिचानलाई कायम राख्दै आसपासका सीमाना जोडिएका स्थानीय तहका भूभाग आवश्यकता र सहमतिका आधारमा समेटेर उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निष्कर्ष भेलाले निकालेको हो।

नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको भेलामा उपप्रमुख राधा कार्की, राजनीतिक दलका प्रतिनिधि, पूर्वनगरप्रमुख, वडाध्यक्ष, उद्योगी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए। भेलाले उपमहानगरपालिका गठनसँगै नगरका केही वडाको सीमाना र निर्वाचन क्षेत्रसम्बन्धी विषय पनि टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ। वडा नम्बर ७ को मेची नदीपारिको सीमाना नजोडिएको भागलाई वडा नम्बर ५ मा समावेश गर्न सिफारिस गर्ने निर्णय भएको छ।

त्यस्तै, संघीय निर्वाचन क्षेत्र निर्धारणका क्रममा वडा नम्बर ९ र १० क्षेत्र नम्बर १ मा परेकाले ती दुवै वडालाई क्षेत्र नम्बर ३ मै कायम गर्नुपर्ने मागसहित सिफारिस गर्ने निर्णय भएको नगरप्रमुख पोखरेलले बताए। सीमाना हेरफेर आवश्यक देखिएका अन्य वडाको हकमा भने स्थानीय बासिन्दा र सम्बन्धित वडाको राय लिएर क्षेत्र मिलाउन सिफारिस गर्ने निर्णय भएको उनले बताए।

भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय अगुवाले भद्रपुरको जनसंख्या, भौगोलिक अवस्था, ऐतिहासिक महत्व र भविष्यको विकास सम्भावनालाई आधार बनाएर उपमहानगरपालिका गठन गर्नुपर्ने धारणा राखेका थिए।