इटहरी | नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन महासचिव एवं विचारक मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
"नेपाली समाजको रूपान्तरणमा जनताको बहुदलीय जनवाद (जबज) को भूमिका र जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण" शीर्षकमा आयोजित उक्त कार्यक्रम शुक्रवार इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो।
कार्यक्रमको आयोजना मदन भण्डारी फाउण्डेसन इटहरी उपमहानगरपालिका कार्यसमितिले गरेको हो। कार्यक्रमका अध्यक्षता फाउण्डेसनका अध्यक्ष उमेश पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बराल उपस्थित रहनुभएको थियो।
कार्यक्रममा प्रमुख वक्ताहरूले मदन भण्डारीद्वारा प्रतिपादित "जनताको बहुदलीय जनवाद" को सैद्धान्तिक स्पष्टता, व्यवहारिक प्रयोग र वर्तमान राजनीतिक सन्दर्भमा यसको सान्दर्भिकताका विषयमा मन्तव्य राखेका थिए।
प्रस्तावनात्मक रुपमा जबजमार्फत समाजवादको आधार निर्माण कसरी सम्भव हुन्छ भन्ने विषयमा विचार प्रस्तुत गरिएको थियो। त्यसपछि सहभागी वक्ताहरूले उक्त प्रस्तावमा आफ्ना विचार र टिप्पणीहरू दिएका थिए।
कार्यक्रममा सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधि सभा सांसद तथा पूर्वमन्त्री भगवती चौधरी, नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, तथा सुनसरी र इटहरीका नेकपा एमाले नेताहरू तथा जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वक्ताहरूले मदन भण्डारीको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै, उहाँको राजनीतिक दर्शन वर्तमान समयमा झनै सान्दर्भिक रहेको धारणा राखेका थिए।

