इटहरी स् सुनसरीको रामधुनी नगरपालिका–६ स्थित तेह्र बालबालिका स्मृति आधारभूत विद्यालय जाने मुख्य बाटो बन्द भएपछि करिब ५ सय विद्यार्थी, शिक्षक तथा अभिभावकहरू मर्कामा परेका छन्। लामो समयदेखि निर्बाध रूपमा प्रयोग हुँदै आएको बाटोमा तारबार लगाएर अवरोध सिर्जना गरिएपछि विद्यालयको पठनपाठन नै प्रभावित भएको छ।
विद्यालयका प्रधानाध्यापक सुनील तिम्सिनाका अनुसार, करिब १९ वर्षअघि जग्गा खरिद–बिक्रीका क्रममा विद्यालय तथा बालबालिकाको आवागमनका लागि १६ फिट चौडाइको पहुँच मार्ग छुट्याइएको थियो। २०६३ सालमा स्थापित यस विद्यालयमा त्यसयता विद्यालय, विद्यार्थी, शिक्षक तथा स्थानीयको सहमतिमा उक्त बाटो सार्वजनिक रूपमा प्रयोग हुँदै आएको थियो। आफ्नै सवारीसाधनसमेत रहेको उक्त विद्यालयमा मान्छे हिँड्नका लागि साँघुरो ठाउँ छाडिए पनि यातायातको आवागमन भने ठप्प भएको छ ।
तर हाल नापी नक्सामा बाटोको अभिलेख नरहेको दाबी गर्दै स्थानीय राजकुमार पौडेल र ध्रुव पौडेलले बाटोमा तारबार लगाएर आवागमन पूर्ण रूपमा बन्द गरिदिएका छन्। रोचक पक्ष त यो छ कि बाटो बन्द गर्ने परिवारकै सदस्य अर्थात् बुबा भीमबहादुर पौडेल स्वयं विद्यालय स्थापनाकालका संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिका पूर्वपदाधिकारी हुन् । परिवारको एक कठ्ठा जग्गाको केही भाग बाटोमा परेको विषयलाई लिएर असन्तुष्टि जनाउँदै उनका छोराहरूले बाटोमा तारबार लगाएका हुन् । विद्यालय व्यवस्थापन समितिका सदस्य जमुना देवी पौडेलले लामो समयदेखि चल्दै आएको बाटो अचानक बन्द हुँदा आपत्कालीन अवस्थामा बिरामी विद्यार्थी वा शिक्षकलाई अस्पताल लैजान तथा विद्यालयमा गाडीहरू आवतजावत गर्नसमेत कठिन भएको बताइन् ।
त्यस्तै, स्थानीय सुशीला खड्काले २०६३ सालको एक दुःखद घटनापछि बालबालिकाको शिक्षार्थ सामूहिक सहमतिमै विद्यालय स्थापना गरिएको स्मरण गर्दै अहिले आएर बाटो बन्द गरिनु दुर्भाग्यपूर्ण भएको बताइन्। विद्यालयजस्तो संवेदनशील क्षेत्रको एक्लो पहुँच मार्ग अवरुद्ध हुँदा बालबालिकाको सुरक्षित वातावरणमा शिक्षा प्राप्त गर्ने मौलिक हकमा समेत गम्भीर ठेस पुगेको छ। घटनापछि विद्यालय व्यवस्थापन समितिले शान्ति सुरक्षा कायम गर्न र अवरोध हटाउन माग गर्दै वडा कार्यालय, रामधुनी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय सुनसरीमा औपचारिक उजुरी दर्ता गराएको छ । यस विषयमा रामधुनी नगरपालिकाका सूचना अधिकृत सुमन पौडेल भने आफूलाई आधिकारिक रूपमा यसबारे केही जानकारी नभएको तर समाचार माध्यममार्फत सुनेको बताएका छन् ।
प्रधानाध्यापक तिम्सिनाले तत्काल छानबिन गरी बाटोमा लगाइएको तारबार हटाइयोस् र दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरियोस् भनी जोडदार माग गरेका छन् । बाटोको स्वामित्व तथा सीमासम्बन्धी विवादको कानुनी निरूपण गर्दै विद्यार्थीको भविष्य र सार्वजनिक आवागमनको अधिकार छिटोभन्दा छिटो सुनिश्चित गर्न स्थानीय सरोकारवाला निकायहरूसँग आग्रह गरिएको छ । यसबारे रामधुनी ६ का वडाध्यक्ष शिवशङ्कर राजधामी विद्यालयले नगरपालिकामा रहेको न्यायिक समितिमा निवेदन दिइसकेकाले दुवै पक्षलाई छलफलमा बोलाई कानुनअनुसार निरूपण गरिने बताए ।


