इटहरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ।
केही वर्षअघि नै तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदन ९डीपीआर० का आधारमा निर्माण गर्न लागिएको यस पुलको अनुमानित लागत ४३ अर्ब रुपैयाँ रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए। एसियाली विकास बैंक ९एडीबी० को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने उक्त नयाँ पुल सञ्चालनमा आएपछि पूर्व(पश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारीसाधनका लागि साविकको दूरीमा १४ किलोमिटर यात्रा कम हुनेछ।
आयोजनाको प्रगतिबारे जानकारी दिँदै निर्देशक ढकालले भने यस गौरवशाली परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको तीन किलोमिटर लामो पुलका साथै ४३ किलोमिटर नयाँ पहुँच सडक निर्माण गरिनेछ। हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत तथा कानुनी कामहरू अगाडि बढिरहेका छन्।
उक्त परियोजना क्षेत्र जैविक विविधताले धनी कोशीटप्पु वन्यजन्तु आरक्षसँग प्रत्यक्ष जोडिएकाले वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० एवं कानुनी स्वीकृतिका केही संवेदनशील विषयहरूलाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको छ। नेपालको पूर्वी क्षेत्रलाई राजधानी र अन्य भागसँग जोड्ने मुख्य धमनीका रूपमा रहेको हालको कोशी ब्यारेज धेरै पुरानो हुँदै गएको र यसमा सवारीसाधनको चाप दिनानुदिन तीव्र रूपमा बढ्दै गएकाले प्रस्तावित यो वैकल्पिक मार्ग भविष्यमा यातायात सञ्चालन, सहजीकरण र समग्र व्यवस्थापनका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण सावित हुने विश्वास लिइएको छ।

