इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएको छ । सरकारी तालिका अनुसार सम्पूर्ण खोप पालिकाका बालबालिकाहरूले लगाई सकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयो । छ सय ६२ जना बालबालिकाहरूले १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप पूरा गरेको स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले प्रत्यक्ष घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रितम अधिकारीले जानकारी दिनुभयो । योसँगै जिल्लाका नौ वटा पालिका मध्ये पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणामा रामप्रसाद राई गाउँपालिका सातौँ बनेको छ । गत फागुन देखि चैत्र महिना भरी गाउँपालिकाका आठ वटै वडाहरूमा घरधुरी सर्वेक्षण गरी वैशाख महिनामा प्रत्येक वडाहरू पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेपश्चात् जिल्ला खोप समन्वय समितिबाट प्रमाणीकरण भई पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको पालिकाले जनाएको छ । आगामी दिनहरूमा बालबालिकाहरूले निश्चित उमेर समूह भित्र पाउने खोपहरू पुरा गराउन गाउँपालिका प्रतिबद्ध रहेको गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो । पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङ राई, स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठ, पालिका उपाध्यक्ष वीरेन्द्र राई, वडाका जनप्रतिनिधि, महिला सामुदायिक स्वयम सेविकाहरू, स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । भोजपुरको षडानन्द नगरपालिका र आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा हुन बाँकी रहेका छन भने जिल्लालाई आगामी असार २३ गते पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

