इटहरी । राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ । कोशी प्रदेशको झापामा रहेको मेची पुलदेखि मधेस प्रदेशको सप्तरीमा रहेको बलाम खोलाको पुलसम्म ३४३ किलोमिटर छ । सोही दूरी पार गर्न तराई–मधेस जोड्दै हुलाकी राजमार्ग निर्माणाधीन छ । वि।सं। २०६८ सालमा आयोजना कार्यालय स्थापना गरी २०७० सालमा निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको भए पनि हालसम्म हुलाकी राजमार्गको निर्माण अझै अधुरो छ । हालसम्म २५५ किलोमिटर सडक निर्माण सकिएको र जुन कुल लम्बाइको झन्डै ७५ प्रतिशत रहेको हुलाकी राजमार्ग निर्देशनालय, इटहरीका सूचना अधिकारी इञ्जिनियर उपेन्द्र दासले जानकारी दिए । ०७८ सालभित्रै काम सक्ने लक्ष्य भएपनि निर्माण व्यवसायीको आन्तरिक कमजोरी, ठेक्का लिएर होल्ड गरेर राख्ने प्रवृत्ति, व्यवस्थापनको ढिलाइ, र सरकारी संयन्त्रको समन्वयहीनताले गर्दा निर्माणको गति सुस्त बनेको उनको भनाइ छ । पछिल्लोपटक योजना सकिने म्याद २०८३र८४ सम्म धकेलिएको छ ।
इञ्जिनियर दासका अनुसार राजमार्गको विभिन्न खण्डमा अलग–अलग प्याकेजमार्फत निर्माण भइरहेको छ । उनका अनुसार झापाको मेचीदेखि मोरङ र झापालाई जोड्ने रतुवा पुलसम्म ४८ किमी सडक चार प्याकेजमा ठेक्का लागेर काम सम्पन्न भएको छ । यसैगरी रतुवादेखि मोरङकै केशलिया ५० किमी सडक पाँच प्याकेजमध्ये दुई सम्पन्न भएको र तीनमा काम जारी रहेको दासले जनाए । त्यसैगरी केशलियादेखि सुनसरीको लौकही २६।५ किमी सडक निर्माण सम्पन्न भएको उनले बताए । लौकहीदेखि सप्तरीको कञ्चनपुरसम्म ३४ किमी सडकमा भने महेन्द्र राजमार्गसँग ‘ओभरल्याप’ भएकाले ठेक्का लागेको छैन । साथै, कञ्चनपुरदेखि सप्तरीको बलान खोलासम्मको ४६।५ किमी सडकमध्ये ४२ किमी सडक निर्माण सकिएको छ । बाँकी ठाउँमा भने काम भइरहेको दास बताउँछन् ।
हुलाकी राजमार्ग अन्तर्गत ४१ वटा पुलका लागि ठेक्का सम्झौता गरिएको छ । तीमध्ये २३ वटा पुल सम्पन्न भइसकेका छन् भने बाँकी १८ पुल निर्माणाधीन छन् । उक्त राजमार्ग झापा, मोरङ, सुनसरी, सप्तरीजस्ता सीमावर्ती जिल्लाहरूमा सहर र गाउँलाई जोड्ने राजमार्ग रहेको उनको भनाइ छ । चारआली–केचना ४० किमी, पथरी–रंगेली ३० किमी, इनरुवा–कप्तानगञ्ज ३० किमी, राजविराज–कुनौली १२ किमी यी खण्डहरूमा कतै निर्माण सम्पन्न भएका छन् भने कतै निर्माण अलपत्र हुँदा समस्या हुने गरेको छ ।हालसम्म करीब १० अर्ब ७५ करोड रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ । तर, लगानीअनुसारको प्रतिफल देखिएको छैन । निर्माण व्यवसायीहरूको गैरजिम्मेवार शैली र सरकारी निकायको कमजोर अनुगमनका कारण राज्यको लगानी खेर जाने बताइन्छ । सडकले गाउँ सहर जोड्ने सपना देखाएपनि अहिलेसम्म सबैठाउँमा सडक निर्माण नहुँदा हुलाकी राजमार्गको कतिपय ठाउँमा स्थानीयवासीले बिस्कुन सुकाउने माध्यममात्रै बनिरहेको छ ।
कतिपय ठाउँमा हुलाकी राजमार्गको निर्माण अलपत्र परेकाले त्यसलाई स्थानीयवासीले धान सुकाउने, बिस्कुन फिजाउने वा चौपाया बाँध्ने खुला ठाउँको रूपमा प्रयोग गर्न थालेका छन् । योजना कार्यालय इटहरीकाअनुसार हुलाकी राजमार्ग अन्तर्गगत झापाको चारआलीदेखि केचनासम्म ४० किलोमिटर, मोरङको पथरीदेखि रंगेलीसम्म ३० किलोमिटर, कानेपोखरीदेखि रंगेलीसम्म २५ किलोमिटर सडक पर्छ । यसैगरी सुनसरीको इनरुवादेखि कप्तानगञ्ज–देवानगञ्ज ३० किलोमिटर, सप्तरीको राजबिराजदेखि कुनौलीसम्म १२ किलोमिटर, कल्याणपूरदेखि सुवर्णपट्टी १८ किलोमिटर, कठौनादेखि पातोसम्म १८ किलोमिटर सडक रहेको छ ।बाँकी रहेको सडक पूर्व पश्चिम राजमार्गमा पर्ने योजना कार्यालयले जनाएको छ ।

