इटहरी । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा इटहरी लेडी जेसिजले ‘स्वास्थ्य सेवामा समर्पित नर्सहरूको सम्मान र प्रेरणा’ भन्ने मूल नारा सहित सम्मान कार्यक्रमको आयोजना गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित इटहरी अस्पताल परिसरमा सम्पन्न उक्त कार्यक्रममा १४ जना महिला नर्सहरूलाई सम्मान गरिएको हो । सम्मानित नर्सहरूलाई सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरिनुका साथै उनीहरूको अनुभव र प्रेरणादायी यात्रा प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यता तथा इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि थापाले नर्सहरूलाई ’स्वास्थ्यसेवा क्षेत्रमा रातदिन खटिएर रोगीको सेवा गर्ने देवदूत’ को संज्ञा दिँदै उहाँहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा जेनिल नर्सिङ एन्ड एजुकेसन कन्सल्टेन्सी, काठमाडौंका प्रबन्ध निर्देशक तथा इटहरी लेडि जेसिज वर्ष २०२१ कि अध्यक्ष गिता सुवेदीको विशेष सहयोग रहेको थियो । उहाँले नर्स पेशाप्रति सम्मान भाव राख्दै यस्तो किसिमका कार्यक्रमले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउने बताउनुभयो । इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालले स्वागत मन्तव्यका क्रममा नर्सहरूलाई सम्मान गर्नु संस्था र समाज दुवैको दायित्व भएको बताउँदै आज सम्मान गरेका नर्सहरू अस्पतालमा शालीनता, संवेदनशीलता र दक्षताका साथ सेवा गर्दै आइरहेको र समाज यिनका योगदान प्रति सधैं ऋणी रहने बताउनुभयो । कार्यक्रममा इटहरी अस्पतालका प्रमुख डा. मनिष कुमार शर्मा,इटहरी अस्पताल प्रशासन प्रमुख पूजा भट्टराई, नेपाल जेसिजका राष्ट्रिय पदाधिकारीहरू, इटहरी लेडी जेसिजका पदाधिकारीहरू लगायत समाजसेवी, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


