इटहरी। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै इलाममा आमरण अनशनमा बसेका डा। गोविन्द केसीको २५औँ सत्याग्रह तेस्रो दिनमा प्रवेश गरेको छ। अनशन लम्बिँदै जाँदा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सचिवालयले जनाएको छ।
डा। केसीले बिहीबार साँझ ५ बजेदेखि इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा आमरण अनशन सुरु गरेका हुन्। यसअघि पनि इलाममा सत्याग्रह गरिसकेका केसीले यसपटक विभिन्न माग अघि सार्दै दोस्रोपटक इलामलाई सत्याग्रहस्थल बनाएका हुन्।चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको भन्दै उनले विवादित निर्णय खारेज गर्न माग गरेका छन्। न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेका संस्थालाई चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको तथा विभिन्न शिक्षण संस्थामा सिट संख्या वृद्धि गरिएकोप्रति उनले आपत्ति जनाएका छन्। आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता र निर्णयमा सम्भावित स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।
त्यस्तै, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र सार्वजनिक शिक्षण संस्थामा कम्तीमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने मागसमेत उनले अघि सारेका छन्।डा। केसीले सरकारसँग २०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका विषयमा भएको सहमति कार्यान्वयन गर्न पनि आग्रह गरेका छन्। उनले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नुपर्ने माग दोहोर्याएका छन्। विशेषगरी इलाममा मेडिकल कलेज स्थापना भए इलामसहित ताप्लेजुङ, पाँचथर र तेह्रथुमका नागरिकलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षा प्राप्त गर्न सहज हुने उनको भनाइ छ।
पूर्वी पहाडी जिल्लामा पर्याप्त स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको व्यवस्था नहुँदा नागरिक महँगो शुल्क तिरेर अन्यत्र जान बाध्य भएको भन्दै उनले सरकारको स्वास्थ्य तथा शिक्षा नीतिप्रति असन्तुष्टि जनाएका छन्। सरकारले सार्वजनिक स्वास्थ्य संस्थाको विकासभन्दा निजी अस्पताललाई प्रोत्साहन गर्ने नीति अपनाएको उनको आरोप छ। सरकार परिवर्तन भए पनि स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी नीतिमा अपेक्षित सुधार नआएकाले पुनः सत्याग्रहमा बस्नुपरेको उनले बताएका छन्। यसअघि २४ पटक सत्याग्रह गरिसकेका डा। केसीले यसपटक पनि आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्। यसैबीच, अनशनको तेस्रो दिनसम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सचिवालयले जनाएको छ।


