इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औँ स्थापना दिवस इटहरीस्थित लायन्स भवनमा सम्पन्न भएको छ।

स्थापना दिवसको अवसरमा संस्थाले शेयर सदस्य, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न २२ विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ। संस्थाका अध्यक्ष शालिग्राम ढकालको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, शेयर सदस्य र विभिन्न क्षेत्रका उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। समारोहका अवसरमा कृषक तथा उद्यमीहरूका उत्पादनहरूको प्रदर्शनी समेत गरिएको थियो। कार्यकारी निर्देशक पुष्कर बस्नेतका अनुसार सहकारीले वित्तीय कारोबारमा मात्र सीमित नरही सदस्यहरूको आर्थिक–सामाजिक विकास, उद्यमशीलता प्रवद्र्धन र उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिँदै आएको छ।

संस्थाको कार्यविधिअनुसार फरक क्षमता भएका सदस्य, विशेष प्रतिभा, उत्कृष्ट कृषक, उत्कृष्ट उद्यमी, युवा उद्यमी र व्यवसायी लगायत २२ विधामा सम्मान प्रदान गरिएको छ। पशुपन्छी पालन तथा खेती गर्नेलाई उत्कृष्ट कृषक, साना तथा घरेलु उद्योगीलाई उत्कृष्ट उद्यमी र १८ देखि ४० वर्ष उमेर समूहकालाई उत्कृष्ट युवा उद्यमीका रूपमा सम्मानित गरिएको हो । यसैगरी, एमबीबीएस, नर्सिङ, एजी, फरेस्ट्री, इन्जिनियरिङ र सीए जस्ता उच्च शैक्षिक उपलब्धि हासिल गर्ने तथा सामाजिक, सांस्कृतिक, खेलकुद एवं प्रशासनिक क्षेत्रमा योगदान पु¥याउने सदस्य र तिनका सन्ततिहरूलाई समेत विशेष सम्मान गरिएको थियो। सचिव महेशकुमार रेग्मीका अनुसार यस अवसरमा १०० जनाभन्दा बढीलाई पुरस्कृत गरिएको छ ।