भोजपुर| भोजपुरको अरुण गाउँपालिका केन्द्र प्याउलीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट गाउँपालिका भित्रका विभिन्न वडाका ११५ जना आँखाका बिरामीहरूले सेवा लिएका छन्। आर्थिक अवस्था कमजोर भएका र आँखाको उपचारका लागि अन्यत्र जान सक्दैनथिएजस्ता नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरमा आँखाको परीक्षणदेखि लिएर अप्रेसनसम्म सेवा दिइएको हो।
शिविरमा सहभागीमध्ये २३ जनाको आँखाको गम्भीर समस्या पहिचान भई तत्कालै अप्रेसन गरिएको गाउँपालिकाले जनाएको छ। बाँकी बिरामीहरूको आँखाको सामान्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। शिविरमा वृद्धवृद्धा, महिला, बालबालिका, तथा विभिन्न उमेर समूहका नागरिकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले गाउँपालिकाले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा केही न केही प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यसपटकको निःशुल्क आँखा शिविरले धेरै नागरिकलाई राहत दिएको बताए। "गाउँका नागरिकहरू विशेष गरी आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी हामीले यस्तो सेवा सञ्चालन गर्दै आएका छौं," अध्यक्ष खत्रीले भने, “पैसाको अभावमा आँखाको उपचार गर्नबाट बञ्चित स्थानीयहरूलाई हामीले घरदैलोमै सेवा उपलब्ध गराएका छौं।”
गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालका अनुसार यस्तो शिविरले स्वास्थ्य सेवामा पहुँच नभएका तथा डाक्टर भेट्न मुस्किल हुने ग्रामीण क्षेत्रका नागरिकका लागि ठूलो सहयोग पुर्याएको छ। “महिला, बालबालिका, वृद्धवृद्धाहरूका लागि सहज वातावरणमा सेवा प्रवाह गर्न हामीले गाउँकै केन्द्रमा शिविर आयोजना गरेका हौं,” उनले भनिन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले पनि शिविरको सफलताप्रति सन्तोष व्यक्त गर्दै भने, “शिविरमा योग्य र अनुभवी नेत्र विशेषज्ञहरूद्वारा आँखाको परीक्षण, उपचार तथा अप्रेसन गरिएको हो। यसले गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा दिने हाम्रो प्रतिबद्धता पूरा गरेको छ।”
यो निःशुल्क आँखा शिविर अरुण गाउँपालिकाको प्रायोजनमा, बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा तथा नेपाल नेत्र ज्योति संघ भोजपुर शाखा र अरुण आँखा उपचार केन्द्रको समन्वयमा सञ्चालन गरिएको हो। यस्तो प्रकारको सहकार्यले ग्रामीण भेगमा समेत गुणस्तरीय सेवा पुर्याउन सकिन्छ भन्ने उदाहरण बनेको छ।
शिविर सम्पन्न भएपछि सेवा प्राप्त गरेका धेरै स्थानीय नागरिकहरूले गाउँमै विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। उनीहरूले यसरी आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरले आफूहरूलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाएको बताए। अरुण गाउँपालिकाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


