इटहरी । मोरङको बुढीगंगा गाउँपालिकाले पशुपन्छीको स्वास्थ्य उपचार, रोग निदान, खोप, कृत्रिम गर्भाधान तथा कृषि उपकरण वितरण जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ। 

गाउँपालिकाले स्थापना गरेको पालिकास्तरीय भेटेरिनरी अस्पताल मार्फत निर्धारित राजस्व शुल्कमा माइनर तथा मेजर सर्जिकल, गाइनोलोजिकल र प्रयोगशाला सेवा उपलब्ध गराइँदै आएको छ। गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले कृषि, पशुपालन र मत्स्यपालन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मूल आधार बनाउँदै किसानलाई उत्पादनसँग जोड्ने उद्देश्य राखिएको बताउनुभयो । उहाँका अनुसार रोगको समयमै पहिचान, आधुनिक प्रविधिको प्रयोग, अनुदान र प्राविधिक सहयोगले किसानको आम्दानी बढाउन र आत्मनिर्भर बनाउन मद्दत पुग्नेछ । अस्पतालमा गोबर, दूध, पिसाब, रगत, छाला परीक्षण, भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) तथा शव परीक्षणको व्यवस्था छ ।

गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भाधान, बन्ध्याकरण, पशुपन्छी बिमा सिफारिस, आकस्मिक सेवाका साथै खोरेत, पीपीआर र रेबिजविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको छ। पशुपालन प्रवद्र्धनका लागि घाँसको बीउ, मिल्किङ मेसिन र दूध दुहुने उपकरण अनुदानमा दिइएको छ । मत्स्य विकास अन्तर्गत माछा भुरा वितरण, पोखरी मर्मत तथा चुना प्रयोगमा अनुदान उपलब्ध गराइएको छ। साथै, किसानका लागि तालिम, अवलोकन भ्रमण, पशु स्वास्थ्य शिविर र सामुदायिक कुकुर बन्ध्याकरण शिविर समेत निरन्तर सञ्चालन भइरहेका छन् ।