इटहरी । धनकुटाको लेगुवा बजारबाट ४७ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ।

महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारमा गरिएको आकस्मिक अनुगमनका क्रममा विभिन्न पसलमा बिक्रीका लागि राखिएका उपभोग्य मिति समाप्त भएका खाद्यान्न, बेकरी सामग्री तथा पेय पदार्थ फेला परेका हुन्। जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायको संयुक्त टोलीले बरामद गरेका ती सामग्री नष्ट गरेको हो। बजार अनुगमनका क्रममा केही पसलमा मूल्यसूची नराखिएको, ग्राहकलाई खरिदबिक्रीको बिलबिजक नदिइएको तथा आवश्यक व्यवसाय दर्ताबिनै पसल सञ्चालन भइरहेको समेत भेटिएको छ। अनुगमन टोलीले त्यस्ता व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गरी व्यवसाय दर्ता गरेपछि मात्र कारोबार गर्न निर्देशन दिएको छ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका खरिदार दिवस खड्काका अनुसार बजारका करिब एक दर्जन किराना तथा खुद्रा पसलमा अनुगमन गरिएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त सहभागितामा बजार अनुगमन गरिएको हो।