भोजपुर | भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ लाई ‘पूर्ण खोप सुनिश्चितता तथा वडादिकोपना’ वडा घोषणा गरिएको छ। सार्वजनिक स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको यस घोषणालाई गाउँपालिकाको नेतृत्वमा विशेष कार्यक्रममार्फत सार्वजनिक रूपमा घोषणा गरिएको हो।
वडाका अध्यक्ष कुमार थापाका अनुसार यो कार्यक्रम लामो समयदेखिको तयारी, समन्वय र समुदायस्तरको सक्रिय सहभागिताको परिणामस्वरूप सम्भव भएको हो। उहाँले भन्नुभयो, “पूर्ण खोप सुनिश्चितता केवल स्वास्थ्यको सवाल होइन, यो समुदायको जागरूकता र सहकार्यको उदाहरण पनि हो।”
कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य ललितकुमार राई तथा वडा सदस्य जितबहादुर राई विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै, कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, महिला स्वास्थ्य स्वयंसेविका, र स्वास्थ्य व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महिला स्वास्थ्य स्वयंसेविकाहरूले घरघरमा गई खोप सम्बन्धी सचेतना फैलाउनुका साथै बालबालिकाको खोप विवरण संकलन तथा अभिलेखीकरणमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनीहरूको निःस्वार्थ सेवा र समर्पण कार्यक्रमको मूल आधार रहेको कार्यक्रम संयोजकले बताए।
कार्यक्रममा बोल्दै स्वास्थ्य शाखाका प्रतिनिधिले भने, “वडाको हरेक बालबालिका, गर्भवती महिला, र लक्षित जनसंख्याले सबै आवश्यक खोप प्राप्त गरेका छन् भन्ने सुनिश्चित गर्नु स्वास्थ्य सेवा प्रणालीको एक उत्कृष्ट उदाहरण हो।” उहाँले यस्ता कार्यक्रमले जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यलाई थप नजिक पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले पनि यो उपलब्धिलाई जनस्वास्थ्य प्रवर्द्धनतर्फको महत्वपूर्ण पाइला भन्दै अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो।
यस घोषणाले अरुण गाउँपालिका वडा नम्बर ७ लाई ‘स्वास्थ्यमैत्री वडा’को रूपमा स्थापित गर्न थप प्रेरणा मिल्ने विश्वास लिइएको छ। आगामी दिनमा अन्य वडाहरूमा पनि यस्तो पहल विस्तार गर्ने योजना रहेको जनाइएको छ।


