इटहरी । उदयपुरको त्रियुगा खोलामा पार्किङ गरिएको एक यात्रुविहीन बस मंगलबार बिहान बाढीले बगाएर पल्टिएको छ । चौदण्डीगढी नगरपालिका–५ मा सोमबार राति डाइभर्सन हुँदै खोला पार गर्नेक्रममा उक्त बस फसेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदार माङडोङका अनुसार को १ ख ४७५३ नम्बरको बस मंगलबार बिहानको बाढीले बगाएर पल्टिएको हो । बाढीका कारण बसलाई बगाएर केही पर पुर्‍याएको थियो । घटनाका बेला बसमा चालक र सहचालक मात्र थिए । बस फसेपछि उनीहरू सुरक्षितरूपमा बाहिर निस्किएका थिए । क्षेत्रको पुरानो पुल भत्किएको कारण अस्थायीरूपमा बनाइएको डाइभर्सन प्रयोग हुँदै आएको थियो । जोखिमका बीच यात्रा गरिँदा यस्तो घटना भएको जनाइएको छ ।