भोजपुर | भोजपुर नगरपालिकाको आयोजना तथा मानवअधिकार मञ्च नेपाल, इलामको सहजीकरणमा सञ्चालित मेलमिलापसम्बन्धी आठ दिने विशेष तालिम मिति २०८२ साल वैशाख १४ गतेदेखि २१ गतेसम्म सफलता पूर्वक सम्पन्न भएको छ। नगरभित्रको शान्तिपूर्ण समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले गरिएको यो तालिमले वडा तहमै विवाद समाधान गर्ने अभ्यासलाई मजबुत बनाउने विश्वास लिइएको छ।

तालिममा नगरपालिकाका विभिन्न वडाहरूबाट प्रतिनिधित्व गर्ने न्यायिक समिति सदस्यहरू, वडा अध्यक्षहरू, उजुरी प्रशासक लगायत सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको समापन कार्यक्रमको अध्यक्षता भोजपुर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति अध्यक्ष निर्मला शेर्पाले गर्नु भएको थियो भने नगरप्रमुख कैलाश कुमार आले (मगर) प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। साथै वडा नं. ६ का अध्यक्ष  शैलेन्द्र कार्की, कार्यपालिका सदस्य श्रीमती बन्दना र उजुरी प्रशासक श्रीमती ज्ञानु श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख आलेले मेलमिलापमार्फत साना ठूला विवादहरू वडास्तरमै समाधान गरी अड्डा–अदालतको झन्झटिलो प्रक्रियाबाट नगरवासीहरूलाई मुक्त गर्न सकिने स्पष्ट पार्नुभयो। उहाँले तालिमको प्रभावकारी कार्यान्वयनले नगरमा न्यायिक पहुँचलाई सहज बनाउने र सामाजिक सद्भाव कायम गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।1746416637711

तालिम अवधिभर प्रशिक्षकद्वय श्री पारस राई र श्री सन्तोष मगरले व्यवहारिक अभ्यास, अनुभवजन्य उदाहरणहरू र सहभागीहरूसँग अन्तरक्रियामूलक विधिबाट प्रशिक्षण प्रदान गरेका थिए। मेलमिलाप प्रक्रियाका मूलभूत सैद्धान्तिक पक्षदेखि व्यवहारमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रुपमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूको सरल, सहज र प्रभावशाली प्रशिक्षण शैलीका कारण सहभागीहरू निकै सन्तुष्ट र प्रेरित देखिएका थिए।

सहभागीहरूले तालिमप्रति देखाएको उत्साह, अनुशासन र सक्रियता अत्यन्त प्रेरणादायी रहेको सहजीकरण संस्था मानवअधिकार मञ्च नेपालले जनाएको छ। उनीहरूका अनुसार, यो तालिमले वडास्तरका न्यायिक समितिहरूलाई थप प्रभावकारी र आत्मनिर्भर बनाउने विश्वास गरिएको छ।IMG_20250505_095026

समापन सत्रमा आयोजक संस्था, प्रशिक्षकहरू तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै तालिममा सिकिएका ज्ञान र सीपहरू व्यवहारमा उतारेर वडा तहमै 'विन–विन' अवस्थाको मेलमिलाप सम्भव बनाउने विश्वास व्यक्त गरिएको थियो। तालिमले नगरपालिकाभित्र शान्ति, सहिष्णुता र आत्मीयता प्रवर्द्धन गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।