इटहरी | पछिल्लो समय इटहरी क्षेत्रमा तापक्रम लगातार उकालो लागिरहेकाे छ। अत्यधिक गर्मीका कारण सर्वसाधारण जनजीवन प्रभावित भइरहेकाे बेला नेपाल तरुण दल इटहरी उपमहानगरपालिका वडा नं. ६ कार्यसमितिद्वारा इटहरी बजार क्षेत्रमा निःशुल्क खानेपानी वितरण गरिएको छ।

सार्वजनिक स्थानहरूमा हिँडडुल गर्ने सर्वसाधारण, मजदुर, यात्री लगाएत व्यक्तिहरूलाई लक्षित गर्दै उक्त अभियान संचालन गरिएको हो। विशेष गरी दिउँसोको समयमा जब गर्मी चरम अवस्थामा पुग्छ, त्यस्ता बेला पानीको अत्यधिक खाँचो पर्नु स्वाभाविक हुन्छ। यस्तै अवस्थालाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले नेपाल तरुण दल वडा नं. ६ ले पानी वितरण कार्यक्रम आयोजना गरेको हो।

वडा नं. ६ का सभापति अजित झाले अभियानको नेतृत्व गरेका थिए। उहाँले बताए अनुसार, "गर्मीका कारण सर्वसाधारण अत्यधिक हैरान भइरहेका छन्। हाम्रो सानो प्रयासले कसैलाई राहत मिल्छ भने त्यो नै हाम्रो सफलताको संकेत हो।"

नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरूङले पनि यस्तो प्रकारको समाजसेवामूलक कार्यले तरुण दलको जनमुखी सोचलाई बल पुग्ने बताए। उहाँले थपे, "राजनीतिक संगठनहरू केवल नारामा सीमित हुनु हुँदैन, व्यवहारमै जनताको सेवा गर्न सक्नुपर्छ। यही सोचका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौं।"Screenshot_2025_0503_085505

पानी वितरण कार्यक्रममा सहभागी भएका स्थानीय बासिन्दा, व्यापारी र हिँडडुल गरिरहेका सर्वसाधारणले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। एक स्थानीय व्यापारीले भने, “गर्मीले गर्दा छाती पोल्ने गरी हिँड्न गाह्रो छ, यस्तो बेलामा बाटैमा चिसो पानी पाइयो भने कति राहत मिल्छ भन्नै पर्दैन।”

नेपाल तरुण दलले यो कार्यमार्फत समाजमा सचेतना फैलाउने र युवाहरूलाई सामाजिक कार्यमा सहभागी गराउने उद्देश्य पनि राखेको छ। उनीहरूले आगामी दिनमा यस्ता कार्यलाई थप व्यवस्थित र नियमित गर्ने योजना बनाएका छन्।Screenshot_2025_0503_085403

वडा कार्यसमितिका प्रतिनिधिहरू, स्वयंसेवकहरू र स्थानीय युवाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।IMG-20250502-WA0004