इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । बिहिबार बिराटनगरमा कोशी प्रदेश सरकार द्वारा आयोजित कोशी लगानी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गर्नुभयो । कोशी प्रदेश लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रदेशको भौतिक पूर्वाधार र कानुनी संरचना लगानीमैत्री भएको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले लगानीको वातावरण सुनिश्चित गर्न रोजगारदाता र श्रमिकबीचको सम्बन्ध मैत्रीपूर्ण हुनुपर्नेमा जोड समेत दिनुभयो । कहिकतै समस्या देखिए पनि अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार समाधान हुने भएकाले श्रमिक सम्बन्ध विश्वसनीय रहेको उहको भनाइ छ । त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार लगानीकर्ताको भरपर्र्दाे साझेदार बन्न तयार रहेको स्पष्ट पार्नुभयो । लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारले ८ वटा कानुन अध्यादेश मार्फत संशोधन गरिसकेको उहाले जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले झन्झट मुक्त प्रशासनिक प्रक्रिया, लगानी सुरक्षा, र संघीय सरकारसँग सहकार्य मार्फत लगानीको कार्यान्वयन सुनिश्चित गरिने जिकिर गर्नुभयो । मुख्यमन्त्री कार्कीले सम्मेलनमा ८ क्षेत्रका ७१ परियोजना सोकेसमा राखिएको जानकारी दिँदै यसले कोशी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुराउने विश्वास व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न मुलुकका लगानीकर्ता, उद्योगपति, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ । प्रदेश सरकारले यस सम्मेलनलाई दीर्घकालीन लगानी प्रवद्र्धनको थालनीको रूपमा लिएको छ ।


