इटहरी | सङ्गीत साधना प्रतिष्ठान नेपाल इटहरीको आयोजनामा र उद्योग वाणिज्य संघ इटहरीको सहकार्यमा “सम्पदा, संस्कृति संरक्षण र पर्यटनका कुरा“ विषयक विशेष कार्यक्रम सोमबार सम्पन्न भएको छ । 

इटहरीस्थित इन्टुरिष्ट होटलमा आयोजना गरिएको कार्यक्रममा सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप कुमार रेग्मीको अध्यक्षता रहेको थियो । कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ पुरातत्वविद् तथा संरचना संरक्षण अभियन्ता रविन्द्र पुरी रहनुभएको थियो ।

नेपालमा सांस्कृतिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका पुरीले सन् २००४ मा युनेस्को एशिया प्यासिफिक सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले निर्माण गर्नुभएका ’नमूना घर’हरू आधुनिकता र नेपाली संस्कृतिको अनुपम मिश्रणको प्रतीकका रूपमा स्थापित छन् ।

कार्यक्रममा बोल्दै पुरीले संस्कृति र सम्पदा संरक्षणका लागि सरकारी, निजी तथा नागरिक तहबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । त्यस अवसरमा पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भविष श्रेष्ठ, सङ्गीत साधना प्रतिष्ठान इटहरीका सञ्चालक राजु केशी र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।IMG-20250428-WA0006

कार्यक्रममा रंगकर्मी तथा इटहरी म्याट्रिक्सका सञ्चालक विक्रम श्री , विभिन्न संघसंस्था, विद्यार्थी, व्यवसायी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको मिडिया पार्टनर बिराट टेलिभिजन रहेको थियो ।