इटहरी। प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको हो । यहाँ विशेषगरी भारतीय पर्यटक आउनेगरेका छन् । भन्सार पास भएर आइसकेका भारतीय पर्यटकलाई बढिमात्रामा चेकजाँचको झन्झट हुने गरेको गुनासो आइरहेकामा हाल पर्यटन वर्षलाई लक्षित गरेर सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँसेर सहज बनाउको अध्यक्ष लिम्बू बताउनुहुन्छ । कोशी प्रदेश सरकारले सीमानाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँस्न सुरू गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीसाधनमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको सुरूआत गर्नुभएको थियो । पर्यटकलाई सहज होस् भनेर यो अभियान सुरू गरेको प्रदेश सरकारले जनाएको छ । दैनिक १०० को हाराहारीमा भारतीय पर्यटकको सवारी भेडेटार आइरहेको बताउँदै अध्यक्ष लिम्बूले भेडेटार र आसपासमा १५ देखि २० हजार पर्यटकलाई राख्न सकिने व्यवस्थित होटल तथा होमस्टे रहेको उहाँको भनाइ छ । गत सालभन्दा यो साल सुरुआती दिनमै आन्तरिक पर्यटकको चहलपल बढेको अनुमान गर्न सकिने धनकुटा साँगुरीगडी–६ नाम्जेका होमस्टे सञ्चालक नगेन्द्र मगरले बताउनुभयो । अरू दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने यस ठाउँमा अरू दिनमा पनि पर्यटकको चाप बढ्न थालेको उहाँको भनाइ छ । नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत १९ वटा घर आबद्ध रहेको र ती घरमा ९० देखि १०० जनासम्म राख्न सकिने उहाँको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटन गर्नेको सङ्ख्या बढेको बताउँदै घुम्नका लागि गाडी भाडामा जाने गरेको यातायात व्यवसायी मोरङ बेलबारी–९ का नगेन्द्र भट्टराईले बताउनुभयो । कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन वर्ष २०८२ सञ्चालन गरिरहँदा प्रदेशको समग्र आर्थिक क्षेत्र चलायमान हुने र यो कार्यक्रम सफल बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बताउनुहुन्छ । चैत २७ गते गुराँसको राजधानी मानिने तेह्रथुमको तीनजुरे मिल्केमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गर्नुभएको थियो । पर्यटन वर्षमा विशेषगरी धार्मीक, प्राकृतिक, सांस्कृतिक पर्यटक कोशी घुम्न आउने कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक यहाँ आउने गरेका छन् । पर्यटन वर्षमा पन्ध्र लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।


