इटहरी | ड्राइभिङ्ग स्कुल संघ नेपाल, कोशी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौँ वार्षिक साधारणसभा शनिबार एक भव्य समारोहका बीच इटहरीमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि शिव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय प्रदेशस्तरीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

संघको नवगठित समितिमा उपाध्यक्षद्वयको रूपमा साधुराम थापा र योगेन्द्र पोख्रेल चयन भएका छन् भने सचिवमा भूपेन्द्र बहादुर थापा, सहसचिवमा अनन्त घिमिरे र कोषाध्यक्षमा विकास राई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा अर्जुन पनेरू, सुमित्रा चौधरी, पर्सुराम निरौला, वसन्त बुढाथोकी, धर्मराज शाही, मिनकुमार खवास र बुद्ध राई निर्वाचित भएका छन्। अधिवेशनले सबै पदाधिकारीलाई सर्वसम्मतिमा चयन गर्दै संघभित्रको एकता र समन्वयलाई अझ मजबुत बनाएको छ ।

नवनिर्वाचित अध्यक्ष शिव श्रेष्ठले आफ्नो मन्तव्यमा ड्राइभिङ्ग शिक्षाको स्तर वृद्धिमा संघको नेतृत्वले विशेष प्राथमिकता दिने बताउँदै भन्नुभयो, “संघले अब ड्राइभिङ्ग विद्यालयहरूको कार्यसम्पादनमा पारदर्शिता, व्यवसायिकता र सेवा गुणस्तर सुधारमा ध्यान केन्द्रित गर्नेछ।” उहाँले कानूनी रूपले मान्यता प्राप्त ड्राइभिङ्ग स्कुलहरूको हितका लागि आवश्यक नीति निर्माणमा सरकारसँग सहकार्य गर्ने प्रतिवद्धता पनि जनाउनुभयो।

अधिवेशनको प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी हुनुहुन्थ्यो। उहाँले सुरक्षित सडक र दक्ष चालक उत्पादनमा ड्राइभिङ स्कुलहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “दुर्घटनारहित सडक परिवहन व्यवस्था निर्माणका लागि ड्राइभिङ विद्यालयहरूले अझ जिम्मेवार भूमिका निर्वाह गर्नु आवश्यक छ।”

अधिवेशनका अवसरमा लामो समयदेखि ड्राइभिङ्ग क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सवारी चालक नारायण प्रधान, व्यवसायीहरू खगेन्द्र कार्की र कर्णबहादुर रायमाझी, तथा यातायात कार्यालय मोरङका अधिकृत रमेश दाहाललाई प्रमुख अतिथि तथा अतिथिहरूको हातबाट दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।1745079143130

मोरङको सिग्देल बन्धु प्रतिष्ठानको सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रमको संयोजन संघका पदाधिकारी योगेन्द्र पोख्रेलले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता बाबुराम प्रधानले गर्नुभएको थियो।

अधिवेशनमा पूर्वराज्यमन्त्री राजकुमार ओझा, प्रदेश सभा सदस्य अमृत अर्याल, सामाजिक अभियन्ता सपना परियार, संघका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारीहरू, विभिन्न जिल्ला तथा स्थानीय तहका ड्राइभिङ स्कुल सञ्चालकहरू, यातायात क्षेत्रका प्रतिनिधिहरू लगाएतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले ड्राइभिङ विद्यालयहरूलाई अझ व्यावसायिक, जिम्मेवार र सामाजिक रूपमा उत्तरदायी बनाउने आवश्यकतामाथि जोड दिएका थिए। अधिवेशनले संघलाई संस्थागत रूपमा सुदृढ बनाउँदै कोशी प्रदेशभरका ड्राइभिङ स्कूलहरूबीच समन्वय र सहकार्यका नयाँ आयाम खोल्ने अपेक्षा गरिएको छ।