इटहरी । धनकुटा जिल्ला, महालक्ष्मी नगरपालिका–७, जितपुर निवासी सुरेश प्रसाद पौडेलकी धर्मपत्नी पवित्रा पौडेल बोनम्यारो रोगबाट पीडित हुनुहुन्छ । २०८० साल चैत १ गतेदेखि बिरामी पर्नु भएकी उहाँको हाल काठमाण्डौंस्थित सिभिल हस्पिटल र जावलाखेलको ब्लड हस्पिटलमा उपचार भइरहेको छ । तीन जना नाबालक सन्तानकी आमा पवित्रा पौडेलको उपचारका क्रममा हालसम्म परिवारले आफूसँग भएको सबै सम्पत्ति खर्च गरिसकेको छ । आर्थिक अभावका कारण बास बस्ने घर समेत बैंकमा धितो राखिएको र लिलामको संघारमा पुगेको जनाइएको छ । बोनम्यारो ट्रान्सप्लान्ट जस्तो खर्चिलो उपचार प्रक्रिया अगाडि बढाउन कठिनाइ भइरहेको अवस्थामा पौडेल वंश महासंघ नेपाल, कोशी प्रदेश कार्यसमितिले मनकारी दाताहरू, संघसंस्थाहरू, समाजसेवी तथा सम्पूर्ण शुभेच्छुहरूलाई सक्दो आर्थिक सहयोग गर्न अपिल गरेको छ ।


