इटहरी । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव २०८२’ सुरु भएको छ । विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो । दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् । नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन् । नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिता हुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीय उत्साहित भएका छन् । महोत्सवमा राखिएका कक्षहरू स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने संस्कार–संस्कृति झल्कने झाँकी प्रदर्शनमा स्वतःस्फूर्त सहभागी भएका नगर कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थशास्त्री हरि रोका, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासनका प्रमुख तथा प्रतिनिधि, चर्चित नायक दयाहाङ राई, रेडपाण्डा तथा थारका अनुसन्धानकर्तालगायत व्यक्तिको उपस्थिति थियो । महोत्सवको औपचारिक उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले पानसमा बत्ती बालेर गर्नुभएको छ । महोत्सव उद्घाटन कार्यक्रमका वक्ताहरूले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभएको थियो । महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको समेत शुभारम्भ गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी खण्डको पर्यटकीयस्थल हुर्लुङमा आयोजित महोत्सवमा हजारौँको सहभागिता रहेको छ । जिल्लामा पहिलो पटक हुर्लुङमा आयोजना गरिएको रेडपाण्डा तथा थार महोत्सवमा राखिएका विभिन्न जातजातिको कक्षहरुमा तस्वीर तथा भिडियो खिच्नेको घुइँचो लागेको छ । सरकारले निर्धारण गरेको एक सय वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को औपचारिक रूपमा शुभारम्भ गरेको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । गत पुसमा औपचारिक रुपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत छ । भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घसंस्थाले विभिन्न महोत्सवहरू आयोजना गर्ने तयारी गरेका छन् । उपप्रमुख राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेका हुन् । भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेका उहाँले जानकारी दिनुभयो । दुई जिल्लाका स्थानीय तहले आआफ्नो क्षेत्रमा महोत्सवको आयोजना गरेसँगै मुन्दुम ट्रेलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको उहाँको भनाइ छ । खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यका रूपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन र नेपालीका लागि १० दिन लाग्ने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।


