इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुण्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो । वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूल खेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचर्यले बताउनुभयो । किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीँको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आयर्चले बताउनुभयो । गत आर्थिक वर्षमा वडाले रु। एक लाख ५० हजार बजेट विनियोजन गरेर केन्द्र स्थापना गरेको उहाँको भनाइ छ । केन्द्रमा किसानको सक्रियतामा सुन्तलाको नर्सरी स्थापना गरिएको छ ।  दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएको स्थानीय राजेन्द्रकुमार राईले बताउनुभयो । नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई वितरण गरिने उहाँको भनाइ छ । आफ्नै ठाउँमा सिकाइ केन्द्रबाट सुन्तलासँगै फलफूल खेतीको विषयमा आवश्यक प्राविधिक ज्ञान लिन सहज भएको उहाँले बताउनुभयो । सिकाइ केन्द्रका माध्यमबाट किसानलाई खेती प्रविधिको विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरले बताउनुभयो । किसानलाई सिकाइ केन्द्रमा बोलाएर अभ्यास गराएर नै खेती प्रविधिका बारेमा जानकारी दिने गरिएको उहाँको भनाइ छ ।