इटहरी । सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा स्थानीयहरुले नयाँ वर्षसँगै हर्सोल्लासका साथ सिरुवा तथा जुडशीतल पर्व मनाएका छन् । केहीले नयाँ वर्षको पहिलो दिन हर्षोल्लासका साथ सिरुवा मनाएका छन् भने केहीले सिरुवा र जुडशीतल तीन दिनसम्म मनाइन्छ । विसं। २०८२ सालको पहिलो दिन  अर्थात नयाँ वर्षसँगै सुनसरीको विभिन्न गाउँठाउँमा सिरुवा र जुडशीतल पर्व मनाइँदै छ । मधेशी तथा थारु आदिसावीहरुले नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ । पहिलो दिनलाई मधेशी तथा मैथली समुदायले सिरुवा र थारुहरूले जुडशीतल भन्ने गरेका छन् । खासगरी जिल्लाका मधेशी, थारु, आदिवासीहरूमा नयाँ वर्षको अवसरमा सिरुवा पर्व मनाउने प्रचलन छ । थारु समुदायले मनाउने सिरुवा ९धाम पावन० पर्व पछिल्लो समय अन्य समुदायले समेत मनाउँदै आएका छन् । तर पर्वको व्यापकता र रौनक बढे पनि सिरुवासँग जोडिएका ग्रामथान र सांस्कृतिक पक्ष भने मासिएर जाने अवस्थामा पुगेका छन् । सुनसरीको सदरमुकाम इनरुवासहित ग्रामीण क्षेत्रमा मधेशी समदायमा नयाँ वर्षको एकाबिहानै ज्येष्ठ सदस्यहरूले घरका कनिष्ठ सदस्यहरूलाई टाउकोमा शिरमा पानी छ्यापेर जुडशीतल मनाएका छन् । घरका ज्येष्ठताका अधारमा हजुरबुवा, हजुरआमा, बुवाआमा तथा अग्रज व्यक्तिले आफ्ना गृहदेवता, ग्रामदेवता, सलहेस थान, मन्दिरमा र अन्य देवताहरूमा पवित्र जल चढाई अन्य कुटुम्ब तथा आफूभन्दा सानालाई पनि जलले टाउकोमा थपथपाई आशीर्वाद दिने र सानाले ठुलालाई खुट्टामा जल चढाई ढोग्ने गरेका छन् । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई यहाँ नयाँ वर्षका रूपमा मनाइन्छ भने थारु समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् । जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ । देवतालाई जल चढाउँदा वर्षभरिको समय सुखद रहोस् भन्ने कामना गरिन्छ । सिरुवा प्रकृतिसँग जोडिएको लोकपर्व भएकाले घर वरिपरि रहेका रुखका जराहरूमा पानी हाल्ने, सडक र घर आसपासमा पानी छर्कने, कुवा र पोखरीहरू सफा गर्ने लगायतका प्रचलन पनि छन् । शिरमा पानी छ्याप्नाले वर्षभरी नै आनन्दन, शीतलता र सफलता मिल्ने जनविश्वासका साथ प्रत्येक घरका ज्येष्ठ सदस्यहरूले छोरा, छोरी, बुहारी, नातीनातीनी, भाइ भतिजोसहितका कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छ्यापेर जुडशीतल पर्व मनाएका छन् । स्थानीय पण्डित वासुदेव यादवका अनुसार ज्येष्ठ सदस्यहरूले कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छ्यापेर आर्सीवाद दिँदै सुस्वास्थ्य, दीर्घायु, आरोग्य र समृद्धिको कामनासहित जुडशीतल मनाएका छन् भने कनिष्ठ सदस्यहरूले ज्येष्ठ सदस्यहरुको खुट्टामा ढोग्ने, पानी राख्ने गरेका छन् । यसले सम्बन्धमा समेत प्रगाढता ल्याउने गरेको यादवको भनाइ छ । शास्त्री कुञ्जीलाल मेहताले गाउँगाउँमा सिरुवाको अवसरमा ज्येष्ठहरूले कनिष्ठ सदस्यहरूको शिरमा र कनिष्ठ सदस्यहरूले ज्येष्ठ सदस्यहरूको खुट्टामा पानी छ्यापेर जुडशीतल मनाएको जानकारी दिनुभयो । ज्येष्ठ सदस्यबाट कनिष्ठ सदस्यहरूलाई शिरमा पानी छ्यापेर जुडशीतल भन्दै आफ्नो घरमा बनाएको मिठोमसिनो खानका लागि समेत निम्तो गर्ने र बिहान खाना खुवाउने चलन समेत रहेको छ । पछिल्लो समय एका सगोलमा खाना खाने र खुवाउने गरेको भए पनि विगतको जस्तो गाउँभरिका स्थानीयहरूले एकले अर्काको घरमा गएर ज्येष्ठ सदस्यबाट शिरमा पानी छ्यापेर जुडशीतलको मान राख्न खाने र खुवाउने संस्कार लोपोन्मुख अवस्थामा पुगेको पण्डित बलराम यादवले बताउनुभयो । सुनसरीमा सलहेस, डिहबार थान, राजाजी थान सहित थारु समुदायको ग्रामथान, मुसहरहरूको दिनाभद्री थान, खत्वेहरुको सेशराज महराज थानसहितको धार्मिक तथा सांस्कृतिक अतिक्रमणका कारण सिरुवामा रौनक घट्दो क्रममा रहेको छ । जिल्लामा कतिपय सिरुवासँग जोडिएका सांस्कृतिक पक्ष लोप भएर गएका छन् । दिन दिनै बढ्दो मानवीय अतिक्रमणले बाँकी रहेका सांस्कृतिक पक्ष पनि लोप भएर जाने अवस्थामा पुगेका वृद्धाहरूले गुनासो गरेका छन् । चैत महिनाको अन्तिम साता बहर जात्रा मनाएपछि थारु समुदाय सिरुवा पर्व मनाउन सुरु गर्छन् । चैत्रको अन्तिम साता उनीहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा बाहिर मनाउने गरेका छन् । बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु हुने थारु संस्कृति संरक्षणमा लागेका अभियन्ता गवनसिंह चौधरीले बताउनुभयो । सुनसरीको रामधुनीमा रहेको पाञ्चायन थानमा र कोशी गाउँपालिका २ पश्चिम कुशाहामा सलहेस थाममा वैशाख १ गतेदेखि तीन दिने मेला लागेसँगै सिरुवा मेला लाग्न सुरु हुन्छ । थारु समुदाय भने सिरुवा पावनका रूपमा यो पर्व मनाउने गर्छन् । उता सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला सरु भएको छ । सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको सिमानामा सलहेस थानमा रमाइलो सांस्कृतिक कार्यक्रमसहित धूमधामका साथ सिरुवा मेला लागेको स्थानीय जुगेश्वर यादवले जानकारी दिनुभयो । उता सुनसरीसहित झापा, मोरङ र उदयपुर लगायतका जिल्लामा बसोबास रहेको राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा पर्व मनाउनमा व्यस्त बनेका छन् । कोशी गाउँपालिका ३ का गुलावी मुखियाका अनुसार वैशाख १ गतेको विधिलाई सतुवाइन भनिन्छ । घरका देवी देवतालाई सातु, सख्खर चढाएर आफू तथा आफ्ना साथीभाइ इष्टमित्रलाई खान दिइन्छ । यसैगरी पानी सिरुवा, काद सिरुवा र रङ्ग सिरुवा गरी विभिन्न विधि पूरा गरी सिरुवा पर्व मनाउने गरिन्छ । जिल्लाको ठाउँठाउँमा पानी सिरुवा मनाइएको छ ।