तेह्रथुम | तेह्रथुम जिल्लाको विकास र समृद्धिमा जनप्रतिनिधिहरूको सक्रिय भूमिका विषयक एक विशेष अन्तरक्रिया कार्यक्रम लालिगुराँस नगरपालिकाको आयोजनामा बसन्तपुरमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाभरिका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त अन्तरक्रिया कार्यक्रम लालिगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङको सभाध्यक्षता तथा नेपाल सरकारकी पूर्व शहरी विकास मन्त्री सीता गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि गुरूङले विगतमा आफूले मन्त्रालय सम्हालेका बेला गरेका कामहरू, योजनाहरू र ती योजनाबाट जिल्लामा परेको प्रभावबारे विस्तृत रूपमा जानकारी गराएकी थिइन्। साथै, उनले तेह्रथुमको समृद्धिका लागि स्थानीय तहको भूमिका अझ सशक्त र उत्तरदायी हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य दुर्गा प्रसाद चापागाईं, प्रदेशसभा सदस्य किशोर चन्द्र दुलाल, तथा पर्यटन क्षेत्रका अभियन्ता लक्ष्समण तिवारीले पनि आफ्नो कार्यकालका अनुभवहरू, क्षेत्रगत सुधारका प्रयासहरू, चुनौतीहरू र आगामी कार्यदिशाबारे सहभागीहरूसँग विचार साझा गरेका थिए।

अन्तक्र्रियामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विद्युत, सडक पूर्वाधार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा विद्यालयहरूको गुणस्तर वृद्धि लगायतका विषयमा विस्तृत छलफल भएको थियो। सहभागी जनप्रतिनिधिहरूले आफू-आफ्नो स्थानीय तहमा सम्पन्न भएका विकास योजनाहरूको विवरण प्रस्तुत गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।IMG-20250410-WA0006

जिल्लाका छवटै स्थानीय तह — लालिगुराँस नगरपालिका, म्याङलुङ नगरपालिका, आठराई गाउँपालिका, छथर गाउँपालिका, फेदाप गाउँपालिका र मेन्छयायेम गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमले जिल्लाभित्र समन्वय, साझेदारी र दिगो विकासको मार्गचित्र तयार गर्न सहयोग पुगेको आयोजकको विश्वास छ।

कार्यक्रमले स्थानीय सरकारहरूको भूमिकालाई थप स्पष्ट पार्दै, प्रदेश तथा संघीय सरकारसँगको सहकार्यलाई मजबुत बनाउने दिशामा सकारात्मक संकेत दिएको छ।