इटहरी । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । बुधबार बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय गरेको बैठकले जन संगठनहरुको प्रतिनिधि चयन चैत्र २९ गते गर्ने महानगरका सचिव बलराम गिरीले बताउनुभयो । उहाँका अनुसार महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै सचिव बलराम गिरीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, प्रवक्ता राम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ । आर्थिक उपसमितिको संयोजकमा मनोज विक्रम साह र सहसंयोजकमा सी एम श्रेष्ठ रहनुभएको छ भने प्रकाश पोखरेलको संयोजकत्वमा स्वयंसेवक उपसमिति बनाइएको छ । राजनितिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजक अध्यक्ष कोइराला र अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष सुनिता श्रेष्ठ रहनुभएको छ । यस्तै सचिवालय सदस्य राम पाण्डेको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ भने खाद्यान्न तथा आवास उपसमितिको संयोजकमा भोला बराल रहनुभएको छ । बैठकपछि अध्यक्ष कोइरालाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महानगरको सिंगो टिमलाई नै विभिन्न जिम्मेवारीका साथ परिचालन गरिएको जानकारी दिनुभयो ।


