इटहरी । उद्यमशीलता प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले रामधुनी नगरपालिकामा बहुमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ । कोशी प्रदेश सरकार, रामधुनी नगरपालिका, र दायित्व संस्थाको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमले स्थानीय नागरिकलाई स्वरोजगार बनाउन तथा साना उद्योग व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ । प्रबन्धक संजय पोखरेलको अध्यक्षता तथा रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । कार्यक्रमले साना उद्योग व्यवसाय गर्नेलाई सहज हुने छ । उद्यमीहरूलाई व्यवसाय क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम भइरहेको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशका संयोजक खगेन्द्र विश्वकर्माले बताउनुभयो । सफल व्यवसायी बनाउन कार्यक्रमले महत्त्वपूर्ण सहयोग गर्ने रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले बताउनुभयो । दायित्व संस्थाबाट १५ लाख, रामधुनी नगरपालिकाबाट २० लाख, तथा कोशी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयबाट ४० लाख रुपैयाँको लगानी हुनेछ । यो कार्यक्रम कोशी प्रदेशका पाँच वटा पालिकामा लागू भइसकेको छ र रामधुनी नगरपालिकामा समेत सफल कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष बुध नारायण चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष शिव शंकर राजधामी, वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र सिंह खवास, वडा नम्बर ९ का वडा अध्यक्ष राम नारायण चौधरी, विभिन्न वडा सदस्यहरू तथा स्थानिय उद्यमीहरूको उपस्थिति रहेको थियो । यस कार्यक्रमले स्थानीय उत्पादन र सेवा क्षेत्रमा लगानी बढाउने, उद्यमशीलतामा नयाँ अवसरहरू सिर्जना गर्ने, र नगरपालिकाको आर्थिक विकासलाई गति दिने अपेक्षा गरिएको छ ।


