इटहरी । वन डढेलोको बढ्दो जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले मोरङका विभिन्न पालिकामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । मोरङको पथरी शनिश्चरे, लेटाङमा सामुदायिक वन उपभोक्ता महासंघ, डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयहरुको संयोजनमा जनचेतनामूलक र्याली, कोणसभा, व्यानर प्रदर्शन र अभिमुखीकरण कार्यक्रमहरू सम्पन्न भएका हुन् । सोमबार मोरङको पथरीशनिश्चरेस्थित सामुदायिक वन उपभोक्ता महासंघ नगर महासंघको आयोजनामा वन डढेलो नियन्त्रण सप्ताह कार्यक्रम सम्पन्न भएको छ । मनकामना सामुदायिक वनबाट सुरु भएको र्याली हाटखोला, भेटनरी लाइन, सिनेमाहल लाइन हुँदै शिखर चोकबाट मन्दिर लाइन भएर शान्ति सामुदायिक वनको भुल्के सिमसारमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नगर महासंघकी अध्यक्ष मैनादेवी फुयल आचार्यको अध्यक्षता रहेको थियो भने सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश महासचिव रेणुका दाहाल, प्रदेश सचिवालय सदस्य अग्नी पौडेल, जिल्ला कार्यबाहक अध्यक्ष मदन पोखरेलले आ –आफ्ना भनाई राख्नुभएको थियो । नगर महासंघका सचिव हेमभक्त गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सप्ताह कार्यक्रम अन्तर्गत फायर लाइन सफा गर्ने, नमुना अभ्यास, पातपतिङ्गर हटाउने र जलाउने जस्ता गतिविधिहरू गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघका अध्यक्ष फुयलले वनमा डढेलो लाग्न नदिन स्थानीयलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा सव डिभिजन वन कार्यालय पथरीका निमित्त प्रमुख कृष्ण चोङबाङले वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपायहरू अवलम्बन गर्दै जनधन र वनको क्षति न्यूनीकरण गर्न सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।


