इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको साझा फुलबारी टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको १० औं वार्षिक साधारणसभाले विष्णु कुमार धमलालाई पुनः अध्यक्षमा चयन गरेको हो।

साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष धमलासँगै उपाध्यक्षमा दल बहादुर कार्की, सचिवमा गोविन्द भट्टराई, कोषाध्यक्षमा साबित्रा श्रेष्ठ चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा तोयानाथ तिम्सिना, सबिता थापा, भीम बहादुर खत्री, लिलाभक्त कार्की, भक्तबहादुर कटवाल, र लक्ष्मी श्रेष्ठ रहेका छन्।

संस्थाका नव-निर्वाचित अध्यक्ष विष्णु कुमार धमलाले समुदायको विकास र समृद्धिका लागि प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले सहि योजना बनाएर संस्थालाई थप सुदृढ बनाउने बताए।

उनले भने, "हामी टोल विकास, सफाइ, सामाजिक सचेतना, र आर्थिक बचत कार्यक्रमलाई प्राथमिकता दिनेछौं। समुदायको आवश्यकताअनुसार सेवा विस्तार गर्दै सामाजिक विकासलाई गति दिने लक्ष्य छ।"

नयाँ नेतृत्व चयन भएको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले संस्थालाई निरन्तर साथ र सहयोग रहने बताइन्।

उनले भनिन्, "स्थानीय तहको विकासमा टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ। हामी इटहरी उपमहानगरपालिकाको तर्फबाट साझा फुलबारी टोल विकास संस्थालाई आवश्यक सहयोग गर्नेछौं।"

त्यस्तै, कार्यक्रममा इटहरी वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश), वडा सदस्य ज्ञानेन्द्र गौतम, हरिहर थारू, आदर्श टोल विकास संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद रोइला, विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

साझा फुलबारी टोल विकास संस्था इटहरी वडा नम्बर १ मा समाज कल्याणका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएको छ। 

संस्थाले बचत तथा ऋण कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले स्थानीय बासिन्दाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन मद्दत पुर्‍याइरहेको छ। साथै, टोलमा पूर्वाधार विकासका लागि समेत काम गर्दै आएको छ।

संस्थाका पदाधिकारीहरूले आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्य गर्दै स्थानीय समुदायलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।