इटहरी । इलामको ऐतिहासिक तथा पुरानो माइस्थान धार्मिक विकास समितिलाई स्तरोन्नति गरी नेपाली सेनाले मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको इलामस्थित रणशार्दूल गणले माइस्थान धार्मिक विकास समितिलाई हस्तान्तरण गरेको हो । पृथ्वीनारायण शाहका पालामा पूर्वी सीमाना वियज गरेर गाडिएका निसान र त्यसबेला प्रयोग गरिएका तोपलाई संरक्षण गरी राखिएको माइस्थान मन्दिरको नेपाली सेनाले स्तरोन्नति गरेको हो । हस्तान्तरणका अवसरमा प्रितनापति पवनराज घिमिरेले नेपाली सेनासँग जोडिएको ऐतिहासिक सम्पदालाई स्तरोन्नति गर्न पाउँदा खुशी रहेको बताउनुभयो । कार्यक्रममा इलामका इतिहासकार युद्धप्रसाद वैद्यले माइ सभ्यतालाई यो मन्दिरले जीवन्त राखेको बताउनुुभयो । प्यागोडा शैलीमा बनिएको यो मन्दिरमा माइखोलाबाट शिला ल्याएर राखिएको र यसको पूूजा गर्ने गरिएको वैद्यले बताउनुभयो । इलामका भीमसेनस्थान, पञ्चकन्या, गजुमुखी, सिंहवाहिनी माइ सभ्यताभित्र पर्ने धार्मिक स्थलहरु रहेको वैद्यको भनाइ छ ।


