इटहरी  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रभन्दा अझ उन्नत व्यवस्था जनताको चाहना भएको बताएका छन् । बिहीबार विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’ विषयक अन्तरसंवाद कार्यक्रममा विप्लवले गणतन्त्रमा आएर पनि  जनताका निराशा कायम रहेको बताए । समाज विकासको चरित्र हेर्दा जति हुनुपर्ने थियो हुन नसक्दा केही असन्तुष्टि उजागर भएको उनले बताए । उनले सम्पत्ति माथिको अधिकार अझै जनतामा नआएकाले नेपाली राजनीति जानेर वा नजानेर चरम अन्तरविरोधमा रहेको बताए । अर्थतन्त्रमा समस्या भएको भन्दै उनले संविधानमा अझै समानुपातिक प्रतिनिधित्वको अभाव रहेको बताए । अल्पसंख्यक, दलित, पीडितको प्रतिनिधित्व अझै हुन नसकेको र समस्या भयो भन्ने आममानिसको धारणा रहेको बताए । जनताले समाजवाद खोजेको बताउँदै विप्लवले समाजवादी अर्थव्यवस्थाको अहिलेको आवश्यकता भएको सुनाए ।  माओवादीले आफूलाई जति रूपान्तरण गर्छ उति नै जनतालाई सुविधा हुने उनले दाबी गरे । नेपाली विशेषतायुक्त समाजवादी गणतन्त्र आवश्यक रहेको सुनाउँदै विप्लवले माओवादीकै कमजोरीबारे समेत विश्लेषण आवश्यक रहेको बताए ।