इटहरी । मध्यरातमा निर्माणाधीन कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा उर्लाबारीका मनिस लिम्बूको मृत्यु भएको छ । राती करिब साढे १२ बजे पूर्वबाट पश्चिमतर्फ स्कुटरमा सवारी भई जाने क्रममा महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी(३ नयाँ मङ्गलवारे स्थित निर्माणाधीन कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा उर्लाबारी(८ का २८ वर्षीय लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।  प्रहरीका अनुसार निर्माणाधीन कल्भर्ट छेउमा रहेको डाईभर्सन थाहा नहुँदा उनी सिधै कल्भर्टमा ठोक्किएका थिए । दुर्घटनाबाट घाइते भएका लिम्बूलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । प्रहरीका अनुसार उनको चिउँडो र छातीमा चोटपटक देखिएको थियो । उनको ट्रमा सेन्टरमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोवेल अस्पताल रिफर गरिएको उर्लाबारी प्रहरीले जनाएको छ । नोवेलमा उपचारकै क्रममा उनको बुधवार बिहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्लो समय एशियन हाईवे बन्ने क्रममा असुरक्षित रूपमा छाडिएको निर्माण स्थलकै कारण दुर्घटना बढ्दै गएको छ । निर्माण स्थलमा उच्च सतर्कता नअपनाउँदा र डाईभर्सनबारे चालकलाई जानकारी नहुँदा सवारी दुर्घटनामा परि अकालमै धेरैले ज्यान गुमाउनुपरेको छ । यसबारे निर्माण व्यवसायी र सरोकारवालाले गम्भीर भई सोच्न आवश्यक देखिन्छ।